कुल आचार्यले अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा बेलायतबाट गर्दै


बार्सिलोना। एनआरएन अभियानको जन्मथलो बेलायतबाट कुल आचार्यले एनआरएनए अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गर्ने भएका छन्। संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका आचार्यले संघको नवौ अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पद दावी गर्दै आएको भएपनि भोलि औपचारिक उम्मेदवारी घोषणा गर्ने भएका हुन्।अल्डरशट एम्पायर हलमा मंगलबार साँझ ६ बजे आचार्यको उम्मेदवारी घोषणा कार्यक्रम रहेको छ। 

अर्का उपाध्यक्ष कुमार पन्तले गत शुक्रबार मात्र काठमाडौमा घोषणासभाको आयोजना गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए। अध्यक्ष पदमा पन्त र आचार्यले औपचारिक उम्मेदवारी घोषणा गरेसँगै निश्चित रुपमा चुनाव हुने आकलन गरिएको छ। 

“बेलायत एनआरएन अभियानको जन्म थलो पनि हो। त्यसैले आदरणीय अग्रजहरु तथा संसार भरि रहनु भएका शुभचिन्तक तथा मित्रहरुसंग सरसल्लाह गरी एनआरएन अभियानलाई नयां गति र दिशा दिने अठोटका साथ मैले केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेको हुँ।” आचार्यले भनेका छन्। 

एनआरएनए युकेको साधारण सदस्य हुँदै एनआरएन अभियानमा लागेका उनले एनआरएन युकेको कार्यसमितिको सदस्य, उपाध्यक्ष हुँदै कार्यसमितिमा अध्यक्षको जिम्मेबारी सम्हालेका थिए। यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप क्षेत्रीय संयोजक हुँदै आठौ महाधिवेशनबाट केन्द्रिय उपाध्यक्ष पदमा आचार्य निर्बाचित भएका थिए।