बार्सिलोनाबाट सुरज र समीले ल्याए एल्वाट्रोसको कभर गीत


बार्सिलोना। केहि बर्षअघि जसरी रिमिक्स गीतले बजार ततायो त्यसैगरि आजभोलि कभर सङको बाढी नै आएको छ।  कतिपय चलचित्रहरुले भने आफ्नो शिर्ष गीतमा कभर गीत गाउने प्रतिस्पर्धा राख्दै चलचित्रको प्रमोशनको रणनीति नै अपनाउने गरेका छन्। देशमा भित्र मात्र हैन बिदेशमा पनि नेपाली गीत संगीतप्रति रुचि र चासो हुने युवाहरुको कभर गाउने र कभर भिडियो बनाउने ‘प्लेटफर्म’ नै बनेको छ। कतिपयले यसलाई पैसा कमाउने ‘आकर्षक पेसा’को रुपमा पनि स्थापित गरिसकेका छन्। कभर सङमा पुराना कलाकारहरुका गीत नयाँ गायकले पुरानै शैलीमा केही नयाँपन मिसाएर गाउँछन्,कतिपयले दुरुस्तै गाउँछन्, कतिले इन्स्ट्रुमेन्ट बजाएर गीतमा आफ्नोपन मिसाउँछन्। 

यसैबीच नेपालको चर्चित रक व्याण्ड एल्वाट्रोसको “तिमी अनि मेरो” बोलको गीतलाई स्पेनबाट कभर सङ बनेको छ। बार्सिलोना निबासी संगीतप्रेमी सुरज मैनाली र समी गुरुङको प्रयासमा एल्वाट्रोसको कभर सङ बनेको हो। ब्याण्डका भोकलिष्ट शिरिष डलीको गीतमा युवा पुस्ताकी नवोदित गायिका समी गुरुङले कभर गीत गाएकी छिन्। एल्वाट्रोस युवाहरु माझ निकै लोकपि्रय समूह हो । गायिका गुरुङले उक्त गीतलाई आफ्नै ढंगले प्रस्तुत गरेकी छिन्। 

गीतको कभर भिडियो पनि बनेको छ। पर्यटकीय शहर बार्सिलोना वरपरका दृश्यहरुलाई भिडियोमा समेटिएको छ। संगीप्रेमी मैनाली आँफै पनि गायक हुन्। उनले उक्त भिडियोको निर्देशन,छायाङ्कन तथा सम्पादन समेत गरेका छन्। मैनाली भन्छन्,” कभर सङका लागि यो हाम्रो सानो प्रयास हो। दर्शक स्रोताले माया गर्नुभयो र रुचाईदिनुभयो भने अन्य गीतहरु बनाउने हौसला मिल्नेछ।”