टिपिकल गीत गाउन मनपर्छ : दुर्गामाया


राजाराम पाैडेल, पाेखरा – लोक दोहोरी गीत मार्फत दर्शक श्रोतामाझ स्थापित बनिसकेकी गायिका दुर्गामाया गुरुङले नयाँ गीत ‘हिड्छौ तर्केर’ दर्शक श्रोतामाझ ल्याउने तयारी गरेकी छन् । गीतको अडियो रेर्कड भइसक्यो । गीतको म्युजिक भिडियो निर्माण गर्न लागेको उनले बताइन् । गीतमा आवाजमा उनलाई गणेश गुरुङले साथ दिएका छन् । स्याङ्गजा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ३ माझकोटमा जन्मिएकी उनी पोखरामा बसेर साँगीतिक क्षेत्रमा निरन्तर सक्रिय छन् ।
२०५१ सालमा लोक दोहोरी प्रतियोगतिाको माध्यमबाट साँगीतिक क्षेत्रमा होमिएकी गुरुङले २०५३ मा रेडियो नेपालमा स्वर परिक्षा उत्तिर्ण गरिन् । सोही वर्ष स्याङजा डाँडा घुम्तिमा गीत रेर्कड गराई साँगीतिक क्षेत्रमा अगाडी बढेकी उनको यात्रा जारी नै छ । गुरुङ कलाकार संघ कास्कीको अध्यक्ष तथा गाउँ शहर दोहोरी साँझको सञ्चालक समेत रहेकी उनले दोहोरी साँझमा समेत आफ्नो प्रस्तुतीलाई निरन्तरता दिइरहेकी छन् ।

हालसम्म १८ वटा एल्बम, निरन्तर तिज गीत र अन्य विभिन्न खालमा गीत गरेर २५ सयको हाराहारीका गीतमा आवाज उनले भरिसकेकी छन् । लोप हुन लागेको टिपिकल गीत गाउन उनलाई मनपर्छ । ‘लोप हुन लागेको टिपिकल सोलो गीत, लोक दोहोरी र बुढापाकाले सुन्न खोज्ने गीत गाउन मनपर्छ’ उनले भनिन् ।
एकल र दोहोरी गीतको अलावा घाँटु, सोरठी, कौरा, देउडा, झोरा, कल्चरल गीत उनले गाउने गर्छिन् । महेन्द्र पुलिस क्लब, दरबार भित्र आर्मीको व्यारेक लगायतका कल्चरल सेन्टरमा समेत काम गरेर आफ्नो गायन प्रतिभालाई निखारता उनले प्रदान गरेकी छन् । पछिल्लो समय मेला, महोत्सव र कार्यक्रममा समेत व्यस्त उनी निरन्तर साँगीतिक क्षेत्रमा अगाडी बढ्ने बताउँछिन् । उनले गीत समेत आफै रचना गर्छिन् । पछिल्लो क्रममा टिपिकल मौलीक भाका लोप हुँदै गएकोमा उनी चिन्तित छन् । प्रतियोगीतामा भाग लिएर साँगीतिक क्षेत्रमा आगमन भएकी उनले विभिन्न पुरस्कार जितिसकेकी छन् । कार्यक्रमको शिलशिलामा जर्मन, युके, हङकङ, कोरिया, जापान, बेल्जियम, दुबई, कतार आदी ठाउँमा पुगीसकेकी गुरुङ यो क्षेत्रबाट प्राप्त गरेको उपलब्धि प्रति सन्तुष्ट छन् ।