चीनलाई उपहार दिने भनिएको एकसिंगे गैँडा फेला पर्न सकेन


काठमाण्डौ – चीनलाई उपहार दिने भनिएको एकसिंगे गैँडा एक साता खोजी गर्दा पनि फेला पर्न सकेको छैन। चिनियाँ र नेपाली विज्ञसहित प्राविधिकहरूले चितवन राष्ट्रिय निकुञ्जमा एक सातादेखि खोजी गर्दा पनि गैँडा फेला नपरेको हो। यो खबर वीरेन्द्र वलीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

चीनलाई उपहार दिने भनिएका दुई जोडी गैँडाको ६ वैशाखदेखि निकुञ्ज क्षेत्रमा खोजी भइरहेको छ। दैनिक रूपमा २५ देखि ३० जनाको टोलीले गैँडाको खोजी गरिरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महार्निर्देशक मनबहादुर खड्काले बताए। गैँडाको खोजीमा चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत, भेटेनेरी चिकित्सक, गेम स्काउट, रेन्जरसहित ४ देखि ६ वटा हात्तीसमेत प्रयोग भइरहेको उनले बताए। ‘शुक्रबार गैँडाको सबैभन्दा धेरै आवत–जावत गर्ने क्षेत्र पत्ता लगाएका छौँ।’ खड्काले भने, ‘अब गैँडा समात्न धेरै समय लाग्दैन। केही दिनभित्रै गैँडा समात्छौँ।’ चीनलाई हस्तान्तरण गर्ने गैँडा एक १ देखि २ वर्षसम्मको हुने खड्काले बताए। सानो भए पक्रिन पनि सजिलो हुनुका साथै हस्तान्तरण गर्न पनि सजिलो हुने विज्ञहरूले बताएका छन्।

जंगलमा बसेको गैँडा पक्रिँदा विशेष सावधानी अपनाउनुपर्ने भएकाले समय लागेको हुन सक्ने गैँडाविज्ञ नरेश सुवेदीले बताए। ‘जंगली जनावर पक्रिन घरपालुवा जनावरजस्तो सजिलो हुँदैन,’ उनले भने, ‘गैँडा आफैँमा खतरानक जनावर भएकाले होसियारीपूर्वक पक्रिनुपर्छ।’ पानीमा बसेको, आमासँगै भएको वेला वा झाडीमा बसेका वेला गैँडा पक्रिन गाह्रो हुने सुवेदीले बताए। टाढाबाट केटाकेटी छुट्याउन पनि गाह्रो हुने भएकाले समस्या हुने उनले बताए।

गैँडा राख्नका लागि सौराहामा दुई प्रकारका बोमा तयार गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल भट्टराईले बताए। एउटा सानो खालको बोमा चारदेखि ५ मिटर लम्बाइ, चौडाइ र गहिराइको बनाइएको छ। त्यो बोमामा गैँडालाई एक महिनासम्म पानीसहित घाँस, काउली, गाजरलगायत खाना दिन्छौँ।’ उपमहानिर्देशक भट्टराईले भने, ‘एक महिनापछि ८ फिट अग्लो ढलान गरी बनाएको बोमा दुई महिनासम्म गैँडालाई राख्छौँ।’ यसरी गैँडालाई बोमामा राखेर उसको चालचलन बुझेपछि चीन लैजान सजिलो हुने विज्ञहरूले बताए।

नेपाल सरकारले चीनलाई असारमा गैँडा हस्तान्तरण गर्ने तयारी गरेको छ। तीन महिनासम्म बोमामा राखेर खाना खुवाएपछि गैँडालाई चीन पु-याउन सजिलो हुने जनाइएको छ। चीनको चिमे लङ सफारी पार्कका सहायक प्रबन्धक याङ गत ६ वैशाखमा चितवन गएका थिए। चिनियाँ प्रबन्धक याङ गैँडाको खाना र बासस्थानसम्बन्धी विषयमा अध्ययन गरेर मात्र स्वदेश फर्किने भएका छन्।

तत्कालीन वनमन्त्री अग्नि सापकोटाले चीनलाई दुई जोडी एकसिंगे गैँडा दिने निर्णय गरेका थिए। सापकोटाले २७ असार ०७३ को मन्त्रिपरिषद्बाट सो निर्णय गराएका थिए।