नेपाली नारी समाज पोर्चुगलले पहिलो तीज कार्यक्रम आयोजना गर्दै


 

 

मनु मल्ल
लिस्वोन-

नेपाली नारी समाज पोर्चुगलले महिलाहरुको विशेष चाड हरितालिका तीज बिशेष पहिलो कार्यक्रमको आयोजना गर्ने भएको छ ।

हरेक वर्ष तीज कार्यक्रम एन.आर.एन. पोर्चुगलले मनाउँदै आएको भएपनि यस पटक एन.आर.एन. पोर्चुगलको विशेष सहयोग र पोर्चुगल स्थित सम्पूर्ण संघ संस्थाहरुको सहयोग र समर्थनमा तीज कार्यक्रम समाजले गर्न लागेको हो ।

२४ अगष्ट आईतबारको दिन आयोजित कार्यक्रममा तीज सम्बन्धि गीत संगीतमा नाच्दै गाउदै साथै नेपाली साडी चोलोमा सजिएर रमाउदै तीज पर्वबाट भरिपुर्ण मनोरन्जन लिन समाजले सबैलाई आह्वान समेत गरेको छ । यसका साथै पोर्चुगलवासी नेपाली दिदीबहिनीहरुसंग भेटघाट,चिनजान, सरसल्लाह र महिलालाई परेको समस्या आफु भित्रैबाट समाधान गर्ने वातावरण सृजना गर्ने अवसरको रुपमा पनि यो तीज कार्यक्रमलाई समाजले लिएको छ । पोर्चुगलवासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुको सरसल्लाह,सहभागिता,सहकार्य र सहयोगको पनि नारी समाजले अपेक्षा गरेको छ ।

ज्ञान, अवसर र प्रगतिको खोजीमा नेपाली महिलाहरु संसारको जुन सुकै कुनामा रहे पनि महिला माथि हुने असमानता, उत्पीडन र हिँसाको विरुद्ध सशक्त आवाज उठाई लैंगिक विभेदको अन्त्य गर्नका लागि आफ्नो ठाउँबाट थप बल पु-याउन केहि समय अघि गठन भएको नेपाली नारी समाज पोर्चुगलको यो पहिलो तीज कार्यक्रम हो ।