प्रतिकको उपन्यास ‘उडान’ को एक कार्यक्रमका विच विमोचन


पोखरा – लेखक तथा पत्रकार बद्री विनोद प्रतिकको उपन्यास ‘उडान’ को एक कार्यक्रमका विच विमोचन सम्पन्न भएको छ । पोखरेली युवा साँस्कृतिक परिवार द्वारा पोखरा स्थित पोखरा ट्रेड महलमा आयोजित कार्यक्रममा उपन्यास ‘उडान’ का विषयमा बोल्ने विभिन्न वक्ताहरुले उक्त उपन्यासका बारेमा चर्चा परिचर्चा गरेका छन् ।

पोखरेली युवा साँस्कृतिक परिवारका सचिव अर्जुन अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रमको सभापती पो.यु.साँ.प.का अध्यक्ष दिपक समीप रहनु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपती सरुभक्त हुनुहुन्थ्यो । त्यस्तै उपेन्द्र पौडेल तथा सुष्मा पौडेलले पुस्तकको परिचर्चा गर्नुभयो भने दिपक समीप तथा नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिँदै पुस्तकका बारेमा थप चिरफार गर्नु भएको थियो । कार्यक्रममा पुस्तक प्रकाशन गृहका तर्फबाट कोसेली प्रकाशनका प्रमुख गोपाल ध्वजुले पनि बोल्नु भएको थियो ।

पुस्तकका परिचर्चाकार उपेन्द्र पौडेलले ४५ वर्ष देखी लेखन र पत्रकारीता गर्दै आउनु भएका उपन्यासकार प्रतिकको स्वीकार, झरेको पात हुँदै ‘उडान’ सम्मको यात्रालाई कोट्याउँदै प्रतिकको लेखकीय अब्बलताको प्रशंसा गर्नु भयो । साथै उपन्यासकी प्रमुख महिला पात्र अपुर्वा र दिवाकरको प्रेम प्रसंगलाई स्तरीय वान्कीमा ढाल्न सक्ने क्षमता देख्दा प्रेमको मामलामा भारतीय लेखक खुसवन्त सँग दाँजेर प्रतिकलाई पोखरेली खुसवन्त भन्दा फरक नपर्ने कुरा बताउनु भयो । त्यस्तै पुस्तकको दोश्रो परिचर्चाकार सुष्मा पौडेलले कुनै कृतिलाई राम्रो र नराम्रो भन्न नसकिने कुरा वताउनु भयो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पुस्तक लेखनको शुरुआती चरण देखी अन्त्य सम्म आँफु लेखकका साथ–साथै रहेकाले पुस्तकको त्रुटीहरु सच्याउँदै सुधार गर्ने मौका प्रशस्त भएकाले पुस्तक लेखन, आवरण र नाम छनोट गुणस्तरीय हुन पुगेको छ । यस हिसावले हेर्दा पाठकलाई सम्पुर्ण रुपले न्याय पुग्ने कुरामा आफु विश्वस्त रहेको भनाई राख्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपती सरुभक्तले समयका वावजुद आफुले पुस्तक पढ्न नपाए पनि प्रस्तुती र नामका हिसाबले प्रतिकको उपन्यास ‘उडान’ पक्कै पनि अब्बल रहेको छ भन्नु भयो । उपन्यासका लेखक प्रतीकले आज सम्म पुस्तक बारेका सन्दर्भहरु आफु सँग सम्बन्धित थिए, पुस्तक सार्वजनीक सँगै अब सबै विषय पाठकका साझा भए । पुस्तक आफ्नो मात्रै नभएर सबैको साझा भइसकेकोले पुस्तकको बारेमा थप नबोल्ने कुरा बताउनु भयो । कार्यक्रममा बोल्ने सम्पुर्ण वक्ताहरुको एकमुष्ठ जोड थियो ‘सम्पुर्ण हिसाबले पुस्तक स्तरीय रहेकाले पुस्तकका बारेमा थप चर्चा–परिचर्चा गर्न एक पटक पढ्दा उपयुक्त हुन्छ ।’