राजदूत रायमाझीलाई प्रश्न:-नेपालले स्पेनमा दूताबास त खोल्यो,अब के फाईदा लिन्छ ?


राजदूत भरत बहादुर रायमाझी

स्पेन/ गत बर्ष राजदूताबास खोल्ने सरकारी निर्णय पछि स्पेनका लागि पहिलो नेपाली राजदूतका रुपमा भरत बहादुर रायमाझी म्याड्रिड आईपुगेका छन्। राजदूत रायमाझी स्पेन आईपुगे पनि अझै दूताबास भवन तथा निबासको टुङ्गो भने  लागेको छैन।  झन्डै दुई साता अघि म्याड्रिड आएका राजदूत रायमाझीसँग नयाँ दूताबास स्थापनाको प्रक्रिया,नियमित सेवा तथा दुईपक्षीय सम्बन्धका बारे नेपालीनेपाली डटकमले गरेको संक्षिप्त कुराकानी :-

तपाई स्पेनका लागि पहिलो नेपाली राजदूत भएर आईपुग्नु भयो तर अझै दूताबास भवन तथा निबासको ब्यबस्था छैन नि ?

दुई चार ठाउँमा हेरी राखेका छौ। यसलाई अब छिट्टै नै टुंङ्गाउन लागि परेका छौ।

दूताबास भवनका लागि खर्च ठुलो होला नि ? खर्च दायरा के छ ?

पैसा पनि जति सक्दो कम,राज्यलाई भार पार्नु भएँन,जति सक्दो कम भार पर्ने गरी खोज्नेछौ।बिशेष गरी यहाँ रहेका नेपालीहरुलाई दूताबासमा आउँन सजिलो होस्, कुनामा लगेर राख्यो भने पनि हुँदैन। बसको स्टेशन,रेल वे स्टेशन नजिक भएमा दूताबास आउने नेपाली तथा बिदेशीहरुलाई सजिलो हुन्छ त्यसलाई नै मध्यनजर गरेर भवन लिन्छौ।

दूताबास भवन निश्चित हुन अझै कति समय लाग्ला ?

लाग्ला अझै १ महिना जति। यसको प्रक्रिया के छ भने सबै भन्दा पहिले त ठाउँ खोज्नु पर्यो। हामीले खोजेको ठाउँ सुरक्षाको दृष्टिकोणबाट ठिक छ वा छैन भनेर यहाँको परराष्ट्र मन्त्रालयबाट स्विकृत हुनु पर्छ। अर्को तर्फ नेपालको परराष्ट्र मन्त्रालयमा खर्चको जानकारी सहित पठाउनु पर्छ। अर्थ मन्त्रालयबाट स्विकृत भए पछि मात्र दूताबास भवनको टुङ्गो लाग्छ। दुवै मुलुकको स्विकृति बिना सम्भव छैन,हामीले प्रक्रिया मात्र गर्ने हो।

आफ्नो ओहोदाको प्रमाणपत्र कहिले पेश गर्दै हुनुहुन्छ ?

ओहोदाको प्रमाणपत्रको पेश गर्दा दुई बटा प्रोसेस हुन्छन् । पहिले त्यसको कपि परराष्ट्र मन्त्रालयमा बुझाउने र पछि राजा समक्ष बुझाउने ब्यबस्था छ। मैले परराष्ट्रमा कपी बुझाईसके। त्यसैले यहाँको अफिसियलहरुसँग भेटघाट गर्ने बाटो खुलेको छ। तर स्पेनका राजा समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउँन भने बाँकी नै छ।

राजदूत रायमाझीले आफ्नो ओहोदाको प्रमाणपत्रको कपि स्पेनको परराष्ट्र मन्त्रालयमा बुझाउँदै

प्रमाणपत्रको कपि परराष्ट्र मन्त्रालयमा बुझाएकाले अब औपचारिक कामकाज गर्न बाटो खुलेको हो ?

हो बाटो खुलेको छ। खालि अब राजा सवारी हुने ठाउँमा मात्र जान मिल्दैन तर अरु जुन सुकै ठाउँमा पनि पुग्न सकिन्छ। राजदूतहरुसँग भेटबार्ता गर्न,स्पेनका अधिकारीहरुसँग भेटघाट तथा छलफल गर्न सकिन्छ।

सर्बसाधरणका समस्याहरु सम्बोधन हुने गरी, राहदानी बनाउने देखिका कागजी प्रक्रिया भने कहिलेबाट सुरु होलान्  ?

अहिले नै पासपोर्टहरु बनाउँन चाहिँ सक्दैनौ। त्यसका लागि अझै २-४ महिना नै लाग्ला। त्यसको कारण के हो भने,पासपोर्टमा स्टिकर लगाईन्छ। त्यो स्टिकर चाहिँ यहाँ दूताबास स्टाबिलिस नभई पठाईदैन। तर यहाँ सबै ब्यबस्थित भईसके पछि भने समय लाग्दैन।

दूताबासको भवन निश्चित गरेर कर्मचारीहरु सहित टिम आई पुगे पछि मात्र राहदानी बनाउने काम सुरु हुने हो ?

हजुर हो

कति जनाको टिम हुन्छ दूताबासमा ?

म सहित तीन जनाको ।

यहाँ को- को आउँने भनेर परराष्ट्र मन्त्रालयले तोकिसकेको छ?

हो तोकिसकेको छ। तर मलाई चाहिँ अफिसियल्ली आएको छैन।

स्पेनका लागि पहिलो नेपाली राजदूत भएर आउँनु भएको छ। दुई मुलुकको कुटनीतिक तथा दुई पक्षिय सम्बन्धको बारेमा जानकार हुनुहुन्छ नि ? नेपाल,स्पेन बीचको त्यस्तो केहि ऎतिहासिक सम्बन्ध छ ?

सन् १९६८ मा दुई  राष्ट्रहरु बिच दौत्य सम्बन्ध स्थापित भएको हो। सन् १९८४ मा स्व. राजा बिरेन्द्र र रानी ऐश्वर्याले स्पेनको भ्रमण गर्नुभएको थियो। भ्रमणका क्रममा दुई देश बीचको कल्चरल कोपरेशनका लागि सम्बन्ध स्थापित भएको पाईन्छ। त्यतिबेला राजा रानीको निमन्त्रणामा फेरि स्पेनका राजा खुवान कार्लोस र रानी सोफियाले ३ बर्ष पछि अर्थात्  सन् १९८७ नोभेम्बरमा नेपालको भ्रमण गर्नु भयो। १९८४ को जुलाईमा राजा बिरेन्द्रले स्पेनका राजालाई हिमालयन रेड पान्डा उपहार समेत दिनु भएको थियो।

सरकारले नयाँ दूताबास त खोल्यो,अब स्पेनवाट नेपालले के फाईदा लिन्छ ?

स्पेनमा रहेको नेपाली समुदायले गर्नु भएको माग र राष्ट्रले पनि आबश्यकता छ भन्ने ठानेर यहाँ दूताबास स्थापना गरेको छ। अब दुई राष्ट्रबीचको सम्बन्धलाई अझ सुमधुर र प्रगाढ पार्न कोशिस गर्नुपर्छ। हामी कहाँ भएका राम्रा कुरा यहाँ ल्याईदिने,यहाँको राम्रो कुरा हामीले लैजाने हो। यिनीहरु सोलार इनर्जीमा,रेलमा,बाटोमा,फोहोरहरु ब्यबस्थापनाको गर्न लगायतका बिभिन्न क्षेत्रहरुमा धेरै नै अगाडि छन्। यी कुराहरुबाट कसरी लैजान सक्छौ भन्ने कुरामा हामी केन्द्रित हुन्छौ।

स्पेनमा रहेको नेपाली दूताबास स्पेनलाई मात्र हेर्ने हो कि ? अन्य मुलुकका लागि पनि काम गर्छ ?

हो अहिले स्पेनलाई मात्र हो।

स्पेन दूताबासले पोर्चुगललाई पनि हेर्ने भन्ने सुनिन्छ नि ? त्यस्तो कुनै जानकारी छ ?

अहिलेलाई पोर्चुगललाई पनि हेर्ने भन्ने छैन। अब बिस्तारै यी कुराहरु परराष्ट्रले रिभ्यू गरेर कसरी सजिलो पर्छ भन्ने बारे जानकारी गराउँछ।