देवघाटधामबाट नुहाउने क्रममा बेपत्ता भएका दाजुभाइको शव फेला पर्‍यो


चितवन -पवित्र तीर्थस्थल देवघाटधामबाट नुहाउने क्रममा बेपत्ता भएका दुई दाजुभाइको शव फेला परेको छ ।

गत बिहीबार श्राद्ध गर्न बुटवलबाट यहाँ आएका दुई दाजुभाइ नुहाउने क्रममा नारायणी र कालीगण्डकीको संगमस्थलमा डुबेर बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार बेपत्तामध्ये रुपन्देही बुटवल उपमहानगरपालिका–१५ का २८ वर्षीय भाई राजकुमार श्रेष्ठको शव आज बिहान नवलपरासीको अमलटारी नजिकै नारायणी नदीमा फेला परेको छ ।

यसअघि बेपत्ता भएको भोलिपल्ट गत शुक्रबार ३८ वर्षीय दाजु चन्द्रमान श्रेष्ठको शव त्रिवेणी नजिकै नदीमा फेला परेको थियो । श्राद्ध गर्नु अघि संगमस्थलमा स्नान गर्ने क्रममा उनीहरु बेपत्ता भएका थिए । रासस