देउवा भारतका आज्ञाकारी बिद्यार्थी बने:-ईश्वर पोखरेल (अन्तरबार्ता)


-ईश्वर पोखरेल

नेपालमा हामीले अनेक प्रकारका प्राकृतिक प्रकोपहरु झेलेका छौं । हामीले भुइँचालो झेल्यौं । वर्षैपिच्छे बाढीको समस्या झेलिरहेका छौं । यसका पछाडि दुई/तीनवटा कारणहरु छन्।

हाम्रो दक्षिणतिर खुल्ला सीमाना छ । दुभाग्य भन्नुपर्छ, हाम्रो छिमेकीले सीमाक्षेत्रमा जुन किसिमले बाँधहरु निर्माण गरेको छ, त्यो बाँधका कारणले पनि यो स्थिति पैदा भएको हो ।

अर्को, योभन्दा पनि महत्पपूर्ण कुरा के हो भने हामीले यो प्राकृतिक विपत्तिबाट बच्नका लागि राज्यको तर्फबाट व्यवस्थित रणनीति बनाउने काम गर्न सकेका छैनौं । हाम्रो अव्यवस्थित बसोबास छ । भू-उपयोग नीति ठीक ढंगले नहुनेवित्तिकै अव्यवस्थित बसोबास यत्रतत्र छ । त्यो अव्यवस्थित बसोबास यदि रहिरहने हो भने यो प्राकृतिक विपत्तिले निम्त्याउने क्षति चाहिँ झनै डरलाग्दो हुन्छ ।

जहाँसम्म छिमेकीले बाँधेका बाँधका कारण ओभर फ्लो हुने र त्यसले नोक्सान पुर्‍याउने हरेक वर्ष भइरहेको छ । वास्तवमा हामीले हाम्रा छिमेकीसित गरेका सन्धी सम्झौताहरुको एउटा पुनरावलोकन गर्न जरुरी छ । भारतसित भएको १९५० को सन्धीको पुनरावलोकन गरिनुपर्छ । त्यसलाई अध्ययन गरिनुपर्छ भन्ने एउटा राजनीतिक विषय हामीले औपचारिक ढंगले उठाएका छौं ।

हामी एमालेहरु हौं । अरु कोही होइन, हामी एमालेहरु हौं, ०५१ सालमा पार्टी अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला पहिलोपटक भारतसित १९५० सन्धीको रिभ्यु गरिनुपर्छ, त्यसलाई अपडेट गरिनुपर्छ भनेर औपचारिक प्रस्ताव राख्ने हामी हौं ।

तर, त्यसपछि राजनीतिक अस्थिरताको एउटा दुश्चक्र जारी भयो र हामी ठीक ढंगबाट अगाडि बढ्न सकेनौं । पछि केपी ओली प्रधानमन्त्री हुँदा प्रवुद्ध समूह बनाएर यो समूहले भारत नेपालको सम्बन्धलाई के-के कुरामा रिभ्यु गर्नुपर्छ भनेर औपचारिक रुपमा प्रस्ताव राखेका हौं र भारतले पनि यसलाई मान्यो । र, भारत-नेपालवीचको सम्बन्धका साथै धेरै विषयहरुलाई आजको परिवर्तित सन्दर्भका कसरी अध्ययन गर्ने भनेर विषयमा केन्दि्रत अध्ययन सुरु भएको छ ।

भारतले जुन बेथिति गरेको छ, यो चिजलाई औपचारिक फोरममा उठाउनुपर्नेहुन्छ, गाली गरेरमात्रै हुँदैन । हाम्रो छिमेकीको नाताले जस्तो व्यवहार उसले गर्नुपर्थ्यो, त्योचाहिँ भइरहेको छैन भन्ने हामीलाई लागेको छ । यो चिज त हामी ‘आइ टु आइ’ हाम्रो छिमेकीसित कुरा गर्न सक्छौं भन्ने हामीलाई लागेको हो ।

सम्झौता हिजो के-के गरियो ? क-कसका पालामा सम्झौता भए ? पूर्वदेखि पश्चिमसम्म बाँधिएका २२ वटा बाँधहरु क-कसका पालामा निर्माण भए ? र, ती बाँधहरु बनाइरहँदा हाम्रो हात तल पार्ने हिसाबले के-के कामहरु भए ? यो फर्केर हेर्न जरुरी छ ।

कसैले पनि संविधानमा सर्वस्वीकार्यताको कुरा गर्छ भने त्यो पाखण्डी कुरा हो । संविधानमा सर्वस्वीकार्यता हुँदैन । लोकतान्त्रिक प्रक्रियाबाट संविधान बन्छ । शक्ति सन्तुलन र सम्झौताबाट संविधान बन्छ । त्यसैले संविधानको सर्वस्वीकार्यता भनेको पाखण्डीपन हो । अमेरिकामा, अफि्रकामा कति प्रतिशतले स्वीकार गरेर संविधान बन्यो ? हामी ९० प्रतिशत सांसदहरुले लाइनमा लागेर संविधानमा हस्ताक्षर गरेका हौं ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सन्दर्भमा एउटा सार्वभौम देशको प्रधानमन्त्री विदेशमा जाँदा सार्वजनिक वक्तव्यमा हामी यसो गर्छौं भने आज्ञाकारी विद्यार्थीले गुरुलाई पाठ बुझाएको जस्तो गरिएको हो भने यसमा म खेद व्यक्त गर्दछु ।

राजपालाई स्वागत छ

राजपा भन्ने पार्टी जहिले बनेको होस्, त्यो राजपा भन्ने पार्टीले निर्वाचनमा भाग लिन्छु भनेर औपचारिक ढंगले बोलेको छ, यो स्वागतयोग्य कुरा हो । बेला-बेलामा भाग लिने रे भनेको सुन्थ्यौं, फेरि नलिने भयो रे भनेको सुन्थ्यौं । तर, पछिल्लो पटक भाग लिने भनेर बोलेको छ, बोलेको अनुसार नै भाग लेओस् । त्यसकारण म राजपाको निर्णयलाई सम्मान र स्वागत गर्न चाहन्छु ।

जहाँसम्म संविधान संशोधनको कुरा छ, नेकपा एमाले संविधानलाई जड दस्तावेज मान्दैन । यो गतिशील दस्तावेज हो । संशोधनीय दस्तावेज हो । संविधान संशोधनीय भए पनि त्यसो संशोधन औचित्यपूर्ण हुनुपर्‍यो भन्ने हाम्रो कुरा हो ।

भरतपुर प्रकरणमा सर्वोच्चले विचार पुर्‍याएन

हामीले के बुझिरहेका छैनौं भने कुनै पनि फैसला या निर्णयले भोलि के नजिर कायम गर्छ भन्ने कुरालाई सर्वोच्चले कति ख्याल गर्‍यो ? यो आफैं पनि एउटा गम्भीर विवेचनाको विषय छ ।

मतपत्र कति च्यातिए, कसले च्यात्यो, त्यो पनि ठेगान छ । पुलिसले औपचारिक मुद्दा हालेको छ । मान्छेहरु तारेख खेप्दैछन् । बाँकी भएका मतहरु सुरक्षित छन् । त्यसरी च्यातिएकै आधारमा पुनः मतदान गर्ने हो भने भोलि कस्तो नजिर बस्छ ? यो सम्मानित सर्वोच्च अदालतजस्तो संस्थाले यसमा विचार पुर्‍याउनुपथ्र्यो, यसमा विचार पुर्‍याइएन ।

यदि यस्तैखालका वितण्डतापूर्ण कुराहरु भइरहने र त्यसले कानूनी मान्यता पाउँदै जाने हो भने के हुन्छ ?

मधेसका जनता देशभक्त छन्

प्रदेश नं दुईको निर्वाचनमा पनि एमाले पहिलो बन्छ । यसमा म विश्वस्त छु । एमालेलाई मधेसविरोधी भन्नु कुनै नयाँ कुरा होइन । हामीले तराईमा विभिन्न कार्यक्रमहरु गरिरहेका छौं ।

मधेसका असली नेपाली जनता देशभक्त छन् । जब हामीले भाषा लगायतका कुराहरु बताउँछौं, उनीहरुले एमालेमाथि लगाइएका आरोपहरु गलत रहेछन् भनेर थाहा पाउने छन् । (स्पेन भ्रमण रहेका बेला एमाले महासचिव पोखरेलसँग गरेको कुराकानीको सारसंक्षेप)