डेनमार्कको राजनीतिमा सक्रिय न्यौपाने भन्छन्,”नेपालीहरुको हितमा काम गर्छु”

कोपनगेहन । चितवन घर भई हाल डेनमार्क बसोबास गर्दै आएका हरी प्रसाद न्यौपाने सन् २००८ को अगस्टमा पढाइको शिलशिलामा डेनमार्क आएका हुन्। डेनमार्कको स्थानीय राजनीतीमा अगाडी बढ्दै रहेका न्यौपाने डेनमार्कको ठुलो पार्टी सोसल डेमोक्र्याट पार्टीमा सकृय रहँदै आएका छन् । पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्दै हाल उनि डेनमार्कमा दोभाषेका रुपमा काम गर्नुको साथै यहाँको एक सरकारी कम्पनीमा कामदार प्रतिनिधि भई डेनमार्कमा रहने नेपालीहरुलाई स्थानीय डेनिस नियम कानुन अनि हक र अधिकारका बारेमा सरसल्लाह दिने गर्छन।

भविष्यमा डेनमार्कमा आप्रवासीहरुको हक र हितको लागि दवाव दिंदै राजनीतिमा अगाडी बढ्ने तथा राजनैतिक विश्लेषक बन्ने लक्ष राखेका न्यौपानेले डेनमार्कको आँउदो स्थानिय निर्वाचनमा आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्। हालै नेपालीनेपाली डटकमका सम्पादक प्रकाश ढकालले उनिसँगको कुराकानीलाई एक अन्तर्वार्ताको रुपमा यहाँ प्रश्तुत गरेका छन् । प्रश्तुत छ सोही अन्तर्वार्ताको अंश –

– तपाईंको दिन चर्या कसरि बित्दै छ ?

अहिले अलिक ब्यस्त छु। बिहान काममा जान्छु अनि काम बाट फर्के पछि समय मिले सम्म कुनै मुद्दा बिशेषका हिसाबले साथीभाई भेटघाट तथा डेनमार्क-स्थित विभिन्न संघ संस्थाहरुले संचालन गरेका कार्यक्रमहरुमा सहभागी हुने गरेको छु। डेनमार्कको सबै भन्दा ठुलो राजनैतिक पार्टी सोसल डेमोक्रेट्सको सदस्य भएको हिसाबले धेरै जसो पार्टीकै काममा वर्कशप, मिटिंग वा छलफलहरुमा ब्यस्त रहन्छु। सानो समाज भए पनि यहाँको समाज सामाजिक, सांस्कृतिक, व्यावसायिक र राजनैतिक हिसाबले निकै नै सक्रिय भएकाले सप्तान्तमा कुनै न कुनै कार्यक्रम भइरहन्छ। त्यसैले म मात्र नभई समाजमा विभिन्न तवरले सक्रिय रहने साथिभाइहरु पनि व्यस्तै देख्छु।

– विश्व राजनीतिमा उतार चढाव आए लगत्तै तपाईंको पार्टीले इमिग्रेसन नीतिमा परिमार्जन गरेको सुनिन्छ। यसबारे तपाईंको धारणा के छ ?

तपाईंले सुनेको कुरा सहि हो। अहिले आप्रवासीहरुलाई हेर्ने दृस्टीकोण नै बदलिएको मैले अनुभव गरेको छु। बिषेशत: बिकसित मुलुकहरुले विकासोन्मुख मुलुकहरुबाट आएका नागरिकहरुलाई प्रदान गरिने सुविधाहरुमा धेरै नै कटौती गरेका छन्। डेनमार्कमा पनि त्यहि नीति अबलम्बन भएको देखिन्छ। त्यति मात्र नभई आप्रवासीहरुको पक्ष्यमा आवाज उठाउने पार्टिहरु भन्दा बिरुद्दमा बोल्ने पार्टिहरुको आकार क्रमिक रुपमा धेरै ठुलो हुने गरेको छ र यसले कतिपय पार्टीहरुलाई हौशला मिलेको हुन सक्छ। मेरो पार्टिले पनि आप्रवासीहरुलाई हेर्ने नीतिमा कडी कडाउ गरेको छ जुन कुराको मैले सुरु देखि नै आन्तरिक रुपमा बिरोध गरिरहेको छु।

युरोपमा रहेका अरु सोसल डेमोक्रेट्स पार्टीहरु कम्जोर हुदै गएका अनि आकारमा पनि साना हुदैं आएकाले सावधानी अपनाउदैं रणनैतिक रुपमा यसो गरिएको पार्टीको व्याख्या छ। बिदेशीहरुलाई जहिले पनि नराम्रो नजरले हेर्ने डेनमार्कको पिपुल पार्टीसंग सहकार्य गर्दै अघि बढेकाले देशकै आप्रवासीहरुलाई हेर्ने नीतिमा परिवर्तन हुने अवस्था बनेको छ- जुन चिन्ताको बिषय हो। त्यसैले नोट अफ डिसेन्ट राखी मैले छुट्टै आफ्नो उम्मेद्वारी दर्ता गराएको छु।

– तपाईं कुन तहमा उठ्दै हुनुहुन्छ र छानिनु भएको खण्डमा के कस्ता कामहरु गर्न सक्नु हुन्छ?

म पार्टीको बिस्पबिया क्षेत्रको व्यवस्थापकीय समितिको एक सदस्य हुँ र आँउदो स्थानिय निर्वाचनको एक उम्मेदवार हुँ। अहिले कोपनहेगनको बासिन्दा भएकोले कोपनहेगनका विभिन्न क्षेत्रहरु मध्य वडा नम्बर ६ अर्थात बिस्पबिया क्षेत्रबाट आफ्नो उम्मेद्वारी दर्ता गराएको छु। छानिन सकिएको खण्डमा प्रबिधि, शिक्षा, स्वास्थ, संस्कृति, बातावरण र रोजगारीका क्षेत्रहरुका लागि नीति नियम तर्जुमा गर्ने तहमा पुगिन्छ। समुहमा बहुमत जुटाउने अवस्थामा आफ्नो समुदाएको लागि धेरै गर्न सकिने बिश्वास मैले लिएको छु।

बास्तबिक तथ्याङ्क नभेटिए पनि डेनमार्कमा करिब चार हजार नेपालीहरु बसिरहेको अनुमान गरिएको छ तर पनि एउटा सांस्कृतिक केन्द्र हामीसंग छैन र सम्भव भय सम्म यो शुभ कार्यलाई निष्कर्षमा पुर्याउने कुरामा मेरो ध्यान रहने छ। त्यसै गरि अन्तर्रास्ट्रिय समाजको लागि बिदेशीहरुको हितमा हुने गरि विभिन्न खाले शिक्षा र स्वास्थ्यसंग सम्बधित कार्यक्रमहरु झिकाउने मेरो प्रयास रहने छ। त्यसबाहेक एउटा हिन्दुहरुको मन्दिर बनाउने र नेपाली समाजका हकमा एउटा रेडियो कार्यक्रम संचालन गर्ने कुरा पनि मेरो योजनामा परेका छन्।

-पार्टीले नीति परिवर्तन गर्दा तपाईंको आफ्नो कार्य योजनामा कसरि प्रभाव परेको छ ?

प्रत्यक्ष रुपमा अनि अप्रत्यक्ष रुपमा दुवै तवरले प्रभाव पारेको छ। प्रत्यक्ष रुपमा म र मेरा पार्टीका नेताहरुबीच अबिस्वासको बातावरण बनेको छ- जसले बिदेशीहरुलाई हेर्ने नीतिमा कडा गर्ने अभियानमा छन्। अहिले पार्टी भित्र तिन प्रकारका तप्काहरु देखिएका छन्, अतिबादी सोच भएका, मझौला र अन्तर्राष्ट्रिय नागरिकलाई माया गर्ने नरम पन्थिहरु।

पार्टीमा अतिबादी सोच भएका नेताहरु अहिले निर्णायक तहमा रहेकाले मेरा विदेशीहरुका हक र हितमा भनेर उठाइने मुद्दाहरु ओझेलमा परेका छन्। अप्रतक्ष रुपमा बदलिँदो परिस्थिति र विश्व आर्थिक संकटले निम्त्याएका समस्याहरुले गर्दा मेरो कार्य योजनामा टड्कारो रुपमा असर पर्ने देखिन्छ। मैले नेपाली समाजलाई यी कुराहरु धेरै बुझाइरहनु पर्दैन तर अरु समाजका मानिसहरुलाई बुझाउन गारो छ। उनीहरुलाई पार्टी भन्दा पनि व्यक्ति र उसले उठाएका मुद्दाहरु हेरेर भोट दिनको लागि अभिप्रेरित गर्नु पर्छ र यस्तो अवस्थामा उनीहरुसंग एक प्रकारको सुमधुर सम्बन्ध स्थापित गर्नु पर्छ र म अहिले त्यहि अभियानमा छु। फरक भाषा, कला-संस्कृति अनि धार्मिक मूल्य र मान्यताले गर्दा सम्बध स्थापित गर्न त्यति सजिलो नहुने रहेछ।

– तपाईंले आफ्ना कार्यक्रमहरुलाई कसरि अघि बढाउदै हुनु हुन्छ ?

अब छिट्टै नै डेनमार्क स्थित नेपाली राजदुताबास, विभिन्न नेपाली संघसंस्थाहरु र अरु सम्पूर्ण सरोकार पक्षहरुलाई बोलाएर चुनाबी रणनीति र गतिबिधिका बारेमा छफल गर्दै छु र बिशेषत: छाता संगठन एन. आर. एन. ए. डेनमार्कको प्रमुख भूमिकामा मेरा गतिविधिहरु अघि बढ्ने छन्। सोहि संस्थाका बर्तमान अध्यक्ष दीपेन्द्र चुडालसंग प्रारम्भिक छलफल भईसकेको छ। एन. आर. एन. ए. एक नेपालि अर्को नेपालीको भन्ने मूल मन्त्रका साथमा अघि बढिरहेको सन्धर्वमा सहजीकरण गर्ने भूमिकामा एन. आर. एन. ए. डेनमार्कले उल्लेखनिय भूमिका निर्वाह गर्ने मैले बिश्वास लिएको छु।

– तपाईंले आफ्ना मुद्दाहरुलाई समर्थन गर्ने अर्को कुनै पार्टी परिवर्तन गर्ने सोचमा हुनुहुन्छ कि ?

त्यस्तो खासै सोच छैन। राजनीति एक दर्शन हो र यसलाई कोट परिवर्तन गरे जस्तो हिसाबले परिवर्तन गर्नु ठिक होइन। राजनीतिमा ट्याक्टिस र रणनीतिले ठुलो रोल खेलेको हुन्छ। त्यसर्थ पार्टीले खेलेको रणनीतिलाई नबुझी मनोमानी हिसाबले हिड्दा झन् भ्रमित भई गन्तब्य स्थान सम्म नपुग्न सकिन्छ। तर अर्थ न बर्थ र यथास्थितिबादी हिसाबले त्यहि पार्टीमै टाँसीरहनु पर्छ भन्ने पनि केहि छैन। २०१९ को संसदीय निर्वाचनको परिणाम लगत्तै एक स्पस्ट बाटो देखिने छ भन्ने मेरो ठम्याई छ।

– तपाईं स्थानी निर्वाचनमा चुनीन/ छानिन नसक्दा ठुलै घाटा हुने अवस्था केहि छ ?

नछानिने भन्ने जस्तो अवस्था म देख्दिन तर चुनाव भनेको चुनाव नै हो। यहाँ जे पनि हुन सक्छ तर छानिन नसक्दा पनि कुनै पहाडै टुट पर्ने अवस्था छैन। राजनीतिमा धैर्यताको अहम भूमिका हुन्छ। त्यसैले एक हारले मेरो यात्रा रोकिदैन बरु आफ्नो छेत्र अनुसारको क्षमता बिकास गरि आँफुमा भएका कमि कमजोरीहरुलाई हटाउँदै जाने मेरो संकल्प छ।

– डेनमार्कको समाजले कसरि तपाईंको योजनामा टेवा पुर्याउन सक्छ ?

मेरा योजनाहरु म एक्लैले पुरा गर्न सक्दिन। त्यसैले कुनै पनि कुरालाई निष्कर्षमा पुर्याउनका लागि हामीलाई एउटा राम्रो समुहको खाँचो पर्छ र धेरै भन्दा धेरै साथीहरुलाई समेट्ने मेरो प्रयास रहनेछ। सर-सर्ति भन्नु पर्दा नेटवर्कमा भएका स्वदेशी तथा बिदेशी पाउनाहरुलाई मेरा मुद्दाहरु बताई भोट दिने वातावरण तयार गर्ने, आर्थिक पाटोलाई सम्बोधन गर्ने, चुनावी गतिविधिहरुलाई सहयोग गर्ने अनि गतिबिधि संचालन गर्नको लागि प्लेटफर्म तयार गर्ने जस्ता कार्यले मेरा योजनामा ठोस टेवा पुग्छ।

-पार्टीको आप्रवासी नीति बिरुद्द नोट अफ डिसेन्ट राखी चुनाव लड्दा तपाईंलाई पार्टीले हेर्ने दृष्टिकोणमा अन्तर आँउदैन ?

थोरै अन्तर पक्कै पनि आँउछ र म यसको लागि तयार पनि छु। तर पार्टीभित्रै पनि असन्तुस्ट पक्षहरु प्रसस्तै भएकाले भित्रै बसेर आन्तरिक हिसाबले आफ्नो संघर्ष जारी राख्ने वातावरण छ। कति के गर्दा के हुन्छ भन्ने कुराको हेक्का भने आँफुमा हुनु पर्छ।

-तपाईंको सफल राजनैतिक सुरुवातको अग्रिम शुभकामान । अन्तमा डेनमार्क बाहिर रहनु भएका तपाईंका समर्थकहरुको लागि केहि भन्न चाहनु हुन्छ?
धन्यबाद। मेरो फेसबुक पेजमा लाइक गरि, फलो गरि केहि सकारात्मक सुझावहरु दिनु भएमा म आभारी हुने छु। तपाईंहरुको जति धेरै लाइक हुन्छ त्यति नै बढी फेसबुक प्रयोगकर्ताहरु सम्म मेरा एजेण्डाहरु पुग्न सक्छन जसले मेरो चुनाबी माहोललाई प्रतक्ष्य वा अप्रतक्ष दुवै हिसाबले सहयोग पुग्ने छ।