एनआरएन स्पेनमा “चुनाबी माहोल” कसले जित्ला ? (टिप्पणी)


एनआरएन स्पेनका अध्यक्ष,उपाध्यक्षर सचिव पदका उमेद्वारहरु

बार्सिलोना / गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको ईतिहासमा नै पहिलो पटक चुनाव हुने भएको छ। सर्बसम्मत कार्यसमिति चयन हुँदै आएको परम्परालाई तोड्दै संघ पहिलो पटक चुनावमा होमिएको हो। संघको आगामी साता हुने अधिबेशनमा नयाँ नेतृत्व चयनका लागि १ हजार ४ सय ६ जना पंजीकृत सदस्यहरुले मतदान गर्दै छन्। अध्यक्ष उपाध्यक्ष र सचिव पदका लागि मात्र चुनाव हुन लागेको हो। अन्य पदहरुमा भने यस अघि नै निर्बिरोध भईसकेका छन्।

अध्यक्षमा सापकोटा र गुरुङ बीच कडा टक्कर

एनआरएन स्पेनको आगामी नेतृत्व सम्हाल्नका लागि अध्यक्षका दुई प्रतिस्पर्धीहरु चिन्तामणी सापकोटा र गौतम गुरुङ निकै दौड धुपमा लागेका छन्। सापकोटा गैर आबासीय नेपाली संघका संस्थापक सदस्य तथा नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष समेत हुन्। लामो समय देखि स्पेन बस्दै आएका सापकोटा अध्यक्षका बलिया दाबेदार ठानिएका छन्। यद्दपी चुनावी माहोल तातिदै गर्दा गुरुङले सबैलाई कौतुहलामा नै राखेका छन्।

राष्ट्रिय समन्वय परिषद स्पेनका बर्तमान उपाध्यक्ष समेत रहेका गुरुङ तमु समाज स्पेनका पुर्ब महासचिव समेत हुन्। तमु समाज स्पेन खुलेर गुरुङलाई जिताउँन लागि परेकाले माहोल झन् रोचक बन्दै गईरहेको छ। यता नेपाली जनसम्पर्क समिति स्पेन,प्रबासी नेपाली मञ्च स्पेन र जनप्रगतिशील मञ्च स्पेन बीच भएको सहमतिका साझा उमेद्वारको रुपमा सापकोटालाई अघि सारेको बताईन्छ।

अध्यक्ष पदका प्रत्यासीहरु, सापकोटा (बाँया) र गुरुङ (दायाँ)
अध्यक्ष पदका प्रत्यासीहरु, सापकोटा (बाँया) र गुरुङ (दायाँ)

तर प्रबासी नेपाली मञ्च स्पेनको आधा हिस्सा नै गौतमको प्रचारमा देखिएको छरपष्ट नै छ। तीन संगठन बीच भएका सहमतिका प्रक्रियामा प्रबासी मञ्च भित्रै असन्तुष्ट भएको बताईन्छ।आईसीसी सदस्यमा जनसम्पर्क समितिबाट पनि उमेद्वारी परे पछि सहमति प्रक्रियामा तिक्तता उब्जेको जानकारहरु बताउँछन्। जसरी प्रगतिशील मञ्च सापकोटाको समर्थनमा खुलेको छ त्यसरी नै प्रबासी मञ्च नखुले पनि केहि हिस्सा भने सापकोटाको समर्थनमा देखिएका छन्।

यता मतदान नै गर्दा जनसम्पर्क समिति भित्रैका केहि भोटहरु सापकोटालाई नआउने पो हुन् कि भन्ने कतिपयको आशंका रहिरहे पनि हालसम्म एक ढिक्का जस्तै देखिन्छ। स्पेनको लामो बसाई,सामाजिक तथा सांगठनिक योगदानका कारण सापकोटा अध्यक्षका बलिया दाबेदार हुन्।

यता गुरुङको माहोल पनि कम छैन। उनि सदस्यता बिस्तार सकेर घरदैलो अभियानमा सक्रिय छन्।राजनीतिक संगठनको समर्थन बिना एनआरएनको नेतृत्व एक स्वतन्त्र ब्यक्तिले लिन सक्छ भन्ने एजेन्डाले धेरै युवाहरुको मन जितेको पाईन्छ। व्यक्तिगत आचरणका कारण पनि गुरुङलाई आउने भोटले कडा टक्कर हुने अनुमान छ।

उमेद्वारलाई खर्चालु भयो चुनाव;-

सहमति हुँदा ३ सय देखि ४ सय पंजीकृत सदस्यता भन्दा नबढेको एनआरएन स्पेनमा १ हजार ४ सय ६ सदस्यहरु बन्दै यसपटक ईतिहास रचेको छ। तर उमेद्वारहरुलाई ईतिहास निकै भारी पर्दै समग्रमा ३० देखि ३५ लाख रुपैयाँको धक्का लागेको छ।

एनआरएन केन्द्रले भवनका लागि भन्दै १० युरो अनिबार्य गरिदिए पछि सदस्यता शुल्क यसपटक २० युरो हुँदा प्रत्येक राष्ट्रिय समन्वय परिषदका चुनावहरु निकै खर्चिला देखिएका छन्। स्पेन जस्तो मुलुकमा रहेर सामाजिक कामकै लागि यति ठुलो जोखिम उठाउनुले के होला ?त्यो भविष्यले नै बताउँने छ।

पैसा पनि गयो,फेरि हारिएला भन्ने पिर:-

अध्यक्षका दुई,उपाध्यक्षका ४ र सचिवका ३ उमेद्वारहरु प्राय; सबैलाई चुनावी खर्चले राम्रै सँग छोएको छ। मूख्यत; चुनाबी मिति नजिकिदै जाँदा आँफैले सदस्यता कटाए पछि खर्च निकै भारी परेको हो। जितहार प्रजातान्त्रिक प्रक्रिया हो भन्दै अन्तत परिणाम स्विकार गर्नु पर्ने एउटा अबस्था रहदै गर्दा अब चुनाव जित्नै पर्छ भन्ने रणनीतिमा उमेद्वारहरु देखिन्छन् ।

उपाध्यक्ष पदका उमेद्वारहरु
उपाध्यक्ष पदका उमेद्वारहरु

दुई उपाध्यक्षका लागि सुनिल रानाभाट,पेशल कोईराला,दिलनाथ भण्डारी र रोशन पाठक गरि चार जना भिड्दै छन्। भने दुई सचिवका लागि दिनेश कुमार गिरी,लोकबन्धु बस्नेत र तारा अधिकारी भिड्दै छन्।

कहाँ- कति छन् सदस्यहरु ?

निर्बाचनसमितिले दिएको जानकारी अनुसार स्पेनको केन्द्रिय मतदान केन्द्र बार्सिलोनामा १ हजार ४६ जना,क्षेत्रीय समिति म्याड्रिडमा १ सय ४५ जना र पाईसभास्को बिल्बाउमा २ सय १५ जना सदस्यहरु छन्। उपाध्यक्ष पदका एक प्रत्यासी पाठकले म्याड्रिडवाट उमेद्वारी दिए पनि अन्य उमेद्वारहरु बार्सिलोना निबासी नै हुन्।

बार्सिलोनामा १ हजार ४६ सदस्य रहे पनि ३ सय ६० भोटको साचो बिल्बाउ र म्याड्रिडमा पनि रहेको छ। हालै मात्र राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियामा भएको निर्बाचनमा अध्यक्ष पदमा ५ भोटको मात्र अन्तर पर्दा एनआरएन केन्द्र नै हल्लीरहेको बेला क्षेत्रीय समिति तिर पनि उमेद्वारले ध्यान केन्द्रित गर्न जरुरी छ।

कसले जित्ला ?

एनआरएन स्पेनमा पहिलो पटक निर्बाचन भएकाले यसै अनुमान गर्न भने गार्ह्रो छ। अर्को तर्फ सबै सदस्यहरु मतदान गर्न नपुग्ने देखिन्छ। अन्तिम समयमा सदस्यता काटिएको हुँदा पनि कसले भोट हाल्नेलाई छनोट गर्यो भन्ने मुख्य रहन्छ। सदस्यता बनाउँदै सोचबुझ नभएको खण्डमा ठुलो धक्का लाग्ने देखिन्छ।

केहि समय अगाडी बार्सिलोनामा सम्पन्न नेपाली जनसम्पर्क समिति स्पेनको चुनावमा आधा मतदाताले पनि मतदान नगरेको उदाहरण जकजाहेर छ। त्यसैलाई आधार गरेर अनुमान लगाउने हो भने ६० प्रतिशत मत खस्न पनि मुस्किल देखिन्छ।

सचिवका उमेद्वारहरु बस्नेत,अधिकारी र गिरी
सचिवका उमेद्वारहरु बस्नेत,अधिकारी र गिरी

अध्यक्षमा सापकोटा र गुरुङ बीचको अनुमान रहस्यमा नै रहे पनि उपाध्यक्ष पदमा पेशल कोईराला निर्बाचित हुने धेरैको अनुमान छ।यस्तै अर्को उपाध्यक्ष पदका लागि सुनिल रानाभाट र दिलनाथ भण्डारी बिच थोरै मतको अन्तरले एक बिजयी हुने अनुमान लगाउने धेरै भेटिन्छन्।तर बार्सिलोना भन्दा बाहिरबाट पनि एनआरएनको नेतृत्व तह सम्म ल्याउनु पर्छ भन्ने मानसिकताबाट पाठकलाई भोट गएको खण्डमा परीणाम उल्टने सम्भावनालाई पनि नकार्न सकिदैन।

सचिवमा सर्बाधिक मत दिनेश गिरीले पाउने अनुमान छ भने अधिकारी र बस्नेत बिच कडा प्रतिस्पर्धा देखिन्छ। यद्दपी चुनाव,चुनाव नै हो, सबै अनुमानलाई फेल खुवाउदै अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रप बिजयी भएको भने बिर्सन हुँदैन।

मतदान कहिले ?

संघको अधिबेशन आगामी जुलाई २३ तारिख बार्सिलोनामा हुँदै छ। निर्बाचन समितीले  २२ तारिख शनिबार क्षेत्रीय मतदान केन्द्रमा र जुलाई २३ तारिख केन्द्रिय मतदान केन्द्रमा मतदान हुने जनाएको छ।

(के छन् त उमेद्वारहरुका एजेन्डा ? शिघ्र प्रकाशित गर्ने छौ।)