कास्कीको घलेलमा क्यानोनिङ गर्नेको भिड


 राजाराम पौडेल, पोखरा – वरिपरि हरिया रूख–बिरुवा । बीचमा कहाली लाग्ने चट्टाने छहरा । जहाँबाट डोरीको माध्यमबाट पानीमा भिझ्दै झर्नुपर्ने । कास्कीको घलेल पुगेर साहसिक खेल क्यानोनिङ खेल्न सुरुमा धेरैले डर मान्छन् । पानीको छाँगामा भिज्दै, डोरी समाउँदै चट्टानबाट झर्ने साहस कमैले गर्छन्, तर जब छाँगाबाट झर्न सफल हुन्छन् अनि उनीहरू रमाउँछन् र पुनः क्यानोनिङ गर्न हौसिन्छन् । क्यानोनिङ गर्न त्यहाँ पुग्नेहरूलाई ठाउँको वस्तुस्थितिका सम्बन्धमा सुरुमै ब्रिफिङ गरिन्छ । फिल्डमै पनि प्रत्यक्ष डेमो गरेर देखाइन्छ । यसले पहिलो पटक क्यानोनिङ गर्न पुगेकाहरूलाई सहजता प्रदान गर्छ । क्यानोनिङमा रमाउनेहरूमा महिलाको संख्या उलेख्य छ, सञ्चालक राम गुरुङ भन्छन्— प्रचार–प्रसारमा जोड दिन नसके पनि यहाँ आउने युवाहरूकै अनुभवका आधारमा क्यानोनिङ गर्न आउनेहरू बढेका छन् ।

पोखराको लेकसाइडबाट झन्डै २२ किलोमिटर उत्तर–पश्चिमको यात्रापश्चात् घलेल पुग्न सकिन्छ । जहाँ क्यानोनिङका लागि अग्लो र होचो दुई थरीका छहरा छन् । पहिलो पटक क्यानोनिङ गर्नेहरूका लागि त्यहाँ ४५ मिटर तथा प्रोफेसनल वा अनुभवीलाई ७५ मिटर अग्लो छहरा उपलब्ध छ । त्यहाँ पुगेर पानीमा भिज्दै छाँगाबाट डोरीमा झुन्डिँदै झर्दाको मज्जा नै बेग्लै हुने क्यानोनिङ गर्नेहरूको अनुभव छ । क्यानोनिङ गर्नुअघि टाउकोमा हेलमेट, वेटसुट तथा हारनेस सेट अनिवार्य लगाउनुपर्छ, जुन त्यहीँ उपलब्ध हुन्छ । सिपालुहरू छहराको टुप्पोबाट पाँच मिनेटमै तल झर्न सक्छन् भने सिकारुहरूलाई झन्डै २० मिनेट सम्म लाग्छ ।

घलेलमा क्यानोनिङको मज्जा लिन आफ्नै सवारी साधन लिएर जाने र फर्कनेहरूले प्रतिव्यक्ति २ हजार ४ सय रुपैयाँ तिनुपर्छ । पोखराबाट जाने–आउने र खाना तथा खाजा खाने सुविधा लिन भने ३ हजार ९ सय रुपैयाँ तिर्नुपर्छ । एक रात बस्ने सुविधासहितको प्याकेजलाई ४ हजार ९ सय रुपैयाँ लाग्छ । विदेशीको हकमा भने ५९ डलर बराबरको नेपाली रुपैयाँ शुल्क तोकिएको छ । त्यसका लागि पोखराको कुनै पनि ठाउँबाट पिकअप गर्ने व्यवस्था छ ।

पोखरा क्यानोनिङका सञ्चालक राम गुरुङले २०७० सालको वैशाखमा क्यानोनिङ भित्राएका थिए । सञ्चालन गरेदेखि हालसम्म ४ हजारभन्दा बढीले क्यानोनिङ खेलको आनन्द लिइसकेको गुरुङले बताए । क्यानोनिङ खेलतर्फ आर्कषण बढ्दै गएपछि घलेलमा व्यवस्थित पूर्वाधार निर्माण गर्ने काम पनि भैरहेको छ । त्यहाँ रेस्टुराँ, फ्री वाइफाइ, व्यवस्थित शौचालय तथा चेञ्जिङ रुमको व्यवस्था छ । अब छिट्टै नेचुरल स्विमिङ पुल निर्माण गर्ने तयारी भैरहेको गुरुङले बताए ।

पोखरा क्यानोनिङले हालसम्म ४० जनालाई क्यानोनिङको तालिम प्रदान गरेको छ । तालिम लिएकामध्ये ८ जनाले त्यही रोजगारी समेत पाएका छन् । केही वर्षअघि पोखरामा अमेरिका क्यानोनिङ एकेडेमीले स्थानीय युवाहरूलाई लक्षित गरी तालिमको आयोजना गरेको थियो । दुई चरणमा गरी २७ जना युवाले उक्त तालिम लिएपछि घलेल गाउँमा क्यानोनिङको व्यवसायिक सुरुवात भएको हो ।

नेपालमा क्यानोनिङका प्रमुख गन्तव्यका रूपमा अन्नपूर्ण पदमार्गअन्तर्गत मस्र्याङ्दी उपत्यका, भोटेकोसी क्षेत्र, सुनकोसी क्षेत्र तथा काठमाडौंको ककनी क्षेत्रलाई लिइन्छ । पछिल्लो समय कास्कीको घलेल गाउँ पनि प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको छ । अहिले कास्कीको विरेठाँटीमा पनि क्यानोनिङ खेलाउने तयारी भैरहेको छ ।

स्रोत : कान्तिपुर साप्ताहिक