नेपाल बोकेका गाडीहरु बार्सिलोनामा गुड्न थाले


बसन्त रानाभाट,बार्सिलोना/ स्पेनको पर्यटकीय शहर बार्सिलोनामा नेपाल बोकेका गाडीहरु गुड्न थालेका छन्। भिजिट नेपाल लेखिएका गाडीहरु सोमबार देखि गुड्न थालेका हुन्।  नेपालको पर्यटन प्रवद्वनका पोस्टरहरु सहित चार फरक रुटमा चार वटा गाडीहरु आगामी अगष्ट १३ तारिखसम्म गुड्ने छन्।

बसहरु बिश्व प्रसिद्द बार्सिलोना फुटबल क्लबको स्टेडियम “क्याम्प नाउ” सम्म पनि नेपाल भ्रमणको निम्तो दिदै गुडेका छन्। यस्तै बार्सिलोनिता,कोलोन,प्यारारेल,प्लासा स्पानिया,कातालोनिया,डियागोनल,पार्क गुयल जस्ता बार्सिलोनाका पर्यटकीय क्षेत्रहरुमा गुडिरहेका छन्।

यसका लागि समन्वय गरेका नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि दीपक खरेलले बिश्व कै पर्यटकीय गन्तब्य शहर बार्सिलोनाका लोकल गाडीहरुमा नेपालको नाम जोड्न पाउनु सबैका लागि गौरवको बिषय भएको बताए। उनले भने,” संसारभरबाट पर्यटकहरु यहाँ घुम्न आईरहेका छन्। यो बेलामा उनीहरुलाई नेपाल पनि घुम्नका लागि प्रेरित गर्नु पाउनु सबैको गर्वको बिषय हो।” बिज्ञापनका लागि भएको खर्च २ हजार ६ सय १९ युरो ६५ सेन्ट खरेल कै संयोजकत्वमा यहाँका नेपालीहरुले नै संकलन गरेका थिए।20031804_1611654775535343_8809005201496911801_nयस अघि “नेपाल भ्रमण वर्ष-युरोप २०१७” को अभियान अन्तर्गत स्पेनिस ट्राभल एजेन्सीका सवारी साधनमा,नेपालीहरुका गाडी,रेष्टुरेन्ट तथा पसलहरुमा पोष्टर टाँस्ने काम सम्पन्न भएको थियो। नेपाल पर्यटन बोर्डले “नेपाल भ्रमण वर्ष–युरोप २०१७” को अभियानमार्फत यस बर्ष युरोपबाट मात्रै २ लाख  पर्यटकहरु नेपाल पुर्याउँने लक्ष्य राखेको छ। स्पेनबाट मात्रै बर्षेनी नेपालमा करिव १३ हजार पर्यटकहरु नेपाल पुग्ने गरेका छन्। तस्बिर:-साईग्रेस