कवि तीर्थलाई बेल्जियममा सम्मान


कवि तीर्थ श्रेष्ठ बेल्जियममा सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले लुभेन सहरमा साहित्यकार तथा संस्कृतिकर्मी श्रेष्ठलाई सम्मान गरेको हो । लुभेनमै एकल कविता वाचन गरी विभिन्न देशको भ्रमणमा रहेका कवि श्रेष्ठलाई नेपाली साहित्यको श्रीवृद्धिमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको लुभेनमा रहेका कवि तथा पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष भोजबहादुर जिसीले जानकारी दिए ।

सम्मानपछि कवि श्रेष्ठले प्रवासमा रहेका नेपालीको हृदयमा नै राष्ट्रियता रहिरहने तथा भाषाको संरक्षणले साँस्कृतिक पहिचानलाई जीवन्त तुल्याउने काम गरेको बताए । विदेशमा नेपाली भाषाप्रतिको सचेतना तथा सक्रियताको नयाँ पुस्तालाई आकर्षित र यो क्षेत्रलाई वृहद बनाएको उनको भनाइ थियो ।

‘विदेशमा रहेका नेपालीले नेपाली साहित्यको बाटो र यसको सकारात्कम पाटोलाई फराकिलो बनाउने काम गरेका छन्,’ कवि श्रेष्ठले भने, ‘मैले विदेशमा रहेका नेपालीका मन र आँखामा नेपाली साहित्य र भाषाको उच्च लगाब देखेको छु ।’ एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमले साहित्यकार तथा भाषासेवी राष्ट्रका सम्पत्ति भएको भन्दै संसारका जुनसुकै ठाउँ पुगे पनि सम्मानित हुनुपर्ने संस्कारको विकास जरुरी रहेको बताए । विदेशी माटोमा सर्जकको उपस्थितिले आफूलाई देशप्रतिको जिम्मेवारीप्रति थप जागरुक तुल्याएको गौतमको भनाइ छ ।

पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष ईश्वरमणि अधिकारी, अनेसास बेल्जियमका अध्यक्ष दीपेन्द्र केसी लगायतले विदेशमा रहेका नेपालीको साहित्य कर्मले भाषा, साहित्यलाई उँचो बनाएको बताए । अनेसास बेल्जियमका अध्यक्ष दीपकज्योति पौडेलले अनेसासको विकासक्रम र सक्रियताबारे चर्चा गर्दै कवि श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरे । कार्यक्रम निवर्तमान अध्यक्ष दीपेन्द्र केसीले स्वागत र महासचिव परमानन्द सापकोटाको सञ्चालन गरेका थिए ।

सोही अवसरमा संरक्षण कविता आन्दोलन युरोपको तर्फबाट पनि कवि श्रेष्ठलाई संयोजक दीपेन्द्र केसी, सदस्य सचिव विष्णु सापकोटा, एनआरएन बेलिल्यम अध्यक्ष गंगाधर गौतम, कवि बिमल गिरीले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका थिए ।