टुर दि पोखराको अभियान,युरोपको नेपाली समुदायसम्म


बार्सिलोना/ ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल भन्दै सुरु भएको ‘टुर दि पोखराको’ अभियान युरोपको नेपाली समुदायसम्म पुगेको छ। युरोपमा बिभिन्न भेटबार्ता छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु गर्दै अभियान बारे जानकारी गराईएको हो। विश्वव्यापी रुपमा चर्चित ‘टुर दि फ्रान्स’ बाट प्रभावित भएर गत वर्षदेखि पर्यटकीय नगरी पोखरामा सुरु भएको  ‘टुर दि पोखरा’लाई यो बर्ष पनि निरन्तरता दिईएको छ ।

साइकल सिटी पोखराले स्वास्थ्य, वातावरण र पर्यटन प्रवर्द्धनको उद्देश्य राखेर यस वर्ष पनि साइकल र्‍यालीको आयोजना गरेको हो । गत वर्ष साइकल र्‍याली निकाल्दै पहिलो पटक ‘टुर दि पोखरा’ सफलतापूर्वक सम्पन्न भएपछि यसको चर्चा अहिले युरोपसम्म पनि चुलिए छ। आगामी सेप्टेम्बर २४ तारिख पोखरामा बृहत र्‍याली निकाल्दै कार्यक्रमको आयोजना गरिदै छ। यो बारे युरोपको नेपाली समुदाय माँझ पनि जानकारी गराउँन आयोजकले प्रतिनिधि पठाएर छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्विटजरल्याण्डले मंगलबार जुरिखमा अायोजना गरेको अन्तरक्रिया कार्यक्रममा साइकल सिटी पोखराकी सदस्य करुणा ढकालले अभियान बारे प्रष्ट पारिन् । अभियान बारे जानकारी दिन युरोप आएकी ढकालले भनिन्,”पोखरालाई साईकल मैत्री शहर बनाउँने साईकल सिटीको नीति रहेकोले टुर दि पोखराको अभियान चलाएका हौ । मुलुक भित्रबाट मात्र हैन अब प्रबासमा रहेका लाखौं गैर आबासीय नेपालीहरुले अभियान बारे चासो राख्नु भयो भने साइकल प्रेमी बिदेशीहरुलाई नेपाल भित्राउँन सकिन्छ।” उनले युरोपको साइकल मैत्री बाताबारण बारे धेरै सुनेको भन्दै आफ्नै आँखाले देखे पछि झनै उत्साहित बनेको पनि बताईन्।

डेनमार्क स्थित नेपाली चेलीहरु अभियानलाई समर्थन गर्दै
डेनमार्क स्थित नेपाली चेलीहरु अभियानलाई समर्थन गर्दै

अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्य डा. बिनय श्रेष्ठले युरोपमा बालबालिका देखि सरकारी उच्चपदस्थहरु सम्मले दैनिक रुपमा साइकलको प्रयोग गर्ने बताउदै यसलाई नेपाल सरकारले पनि सिको गर्नु पर्नेमा जोड दिए । डा. श्रेष्ठले भने “साइकल सिटीको यो अर्थपूर्ण अभियानका लागि प्रबासमा रहेका सबै नेपालीहरुले साथ दिनु पर्छ। यति मात्र हैन एनआरएनले समेत चासो दिन जरुरी छ त्यसैले अभियान बारे अाईसीसीमा समेत कुरा उठाउँने छु ।”

एनआरएन स्बिजरल्याण्डका युवा संयोजक अर्जुन बस्ताकोटीको संयोजनमा भएको कार्यक्रममा जुरिख नेपाली स्पोर्टस् क्लबका अध्यक्ष देब राई,एनआरएन स्बिजरल्याण्डका पूर्व उपाध्यक्ष बिजया भट्ट,एनआरएनए स्बिजरल्याण्डका सदस्य प्रमोद भट्ट,जुरिख नेपाली स्पोर्टस् क्लबका कोषाध्यक्ष लोकेन राना,युवा गायक सुभास सुन्दास लगायतले  बोल्दै टुर दि पोखरा अभियानलाई शुभकामना ब्यक्त गरे।

 स्विटजरल्याण्डबाट पनि अभियानलाई समर्थन
स्विटजरल्याण्डबाट पनि अभियानलाई समर्थन

यसैबीच विदेशमा रहेका नेपाली दूताबासहरु देखि लिएर पर्यटन दूतहरुलाई पनि यो अभियान बारे जानकारी गराईएको छ । गत साता डेनमार्क स्थित नेपाली दूताबासमा पुगेर “टुर दि पोखराको” बारे प्रतिनिधि ढकालले  जानकारी गराईन्। उक्त अबसरमा डेनमार्कस्थित नेपाली दुतावासका कार्यबाहक राजदुत रामकाजी खड्का अभियान निकै महत्व पूर्ण रहेको भन्दै आफ्नो तवरबाट सक्दो सहयोग गर्न प्रतिबद्दता जनाए। भेटका क्रममा डेनमार्क स्थित पर्यटन दूत सोम सापकोटा पनि सहभागी थिए।

यस्तै डेनमार्कमा नै सम्पन्न तीज बिशेष कार्यक्रमबाट पनि शुभकामना ब्यक्त गर्दै दिदिबहिनीहरुले टुर दि पोखराको ब्यानर सहित तस्बिर खिचाएका थिए। डेनमार्कमा पनि साइकलको प्रयोग अत्याधिक हुने बताउँदै उनीहरुले नेपाल सरकारलाई गम्भिर भएर मुलुकभर साइकल मैत्री बाताबरण बनाउँन माग समेत गरे।

डेनमार्क स्थित नेपाली दुताबासबाट कार्यबाहक राजदूत र प्रर्यटन दूतले समर्थन
डेनमार्क स्थित नेपाली दुताबासबाट कार्यबाहक राजदूत र प्रर्यटन दूतले समर्थन

साइकल सिटी पोखराले गैर आबासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गरेर अगाडि बढ्ने प्रयास स्वरुप यस बर्ष युरोपमा छलफल तथा अन्तरक्रिया गरेको हो। यसका लागि युरोपका पत्रकार बसन्त रानाभाटलाई जिम्मेबारी दिदै कार्यक्रमहरु तय गरिदिन अनुरोध पत्र लेखेको थियो। पत्रकार रानाभाट कै पहलमा युरोपमा बिभिन्न मुलूकहरुमा कार्यक्रमहरु  भएका हुन्।

पोखराको फेवातालबाट सुरु भएर लेखनाथको बेगनास तालमा समापन हुने साइकल र्‍यालीमा करिब १ हजार जनाले सहभागिता जनाउँने अपेक्षा गरिएको छ। र्‍यालीका लागि करिब ११ लाख ५० रुपैयाँ खर्च हुने अनुमान गरिएको हुँदा आर्थिक सहयोगको लागि आयोजकले अनुरोध गरेको छ।