पद्मश्री चीरहरणलाई,साधना सम्मानबाट काइँला सम्मानित हुने


बार्सिलोना/ खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि. सं. २०७२ को पद्मश्री पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास ‘चीरहरणलाई’ दिने घोषणा गरेको छ । प्रतिष्ठानले हरेक बर्ष प्रदान गर्दै आएको पद्मश्री पुरस्कार यस बर्ष कार्कीको चीरहरणले प्राप्त गर्ने भएको हो । सर्जकलाई अभिनन्दनसहित प्रमाणपत्र र दुई लाख रुपैंया नगद प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

वि. सं. २०६३ सालदेखि प्रतिष्ठानले प्रत्येक वर्ष नेपाली साहित्यमा वर्षभरि प्रकाशित भएका पुस्तकहरूमध्येबाट छानिएको कृतिलाई एकल वा संयुक्त रूपमा पद्मश्री पुरस्कारबाट सम्मान गर्दै आएकोमा छ । गत वर्ष प्रतिष्ठानले पुरस्कारको लागि आवेदन दिनुपर्ने व्यवस्था खारेज गर्दै प्रकाशित कृतिहरू प्रतिष्ठान स्वयंले बजारबाट खरिद गर्ने र पुरस्कारको अन्तिम घोषणा हुनुअघि पाँच उत्कृष्ट कृतिको मनोनयन गरी सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सोबमोजिम प्रतिष्ठानले यस बर्ष रामलाल जोशीको कथासंग्रह ऐना, निलम कार्की निहारिकाको उपन्यास चीरहरण, कुमार नगरकोटीको उपन्यास मिस्टिका, गिरीश गिरीको गैह्र-आख्यान वीरगञ्ज: मेरो शहरको कथा र भूपिनको कवितासङ्ग्रह सुप्लाको हवाइजहाज पाँच कृतिको सूचि विज्ञप्ति मार्फत सार्बजनिक गरेको थियो।

यिनै पाँच कृतिमध्येबाट विद्वान मूल्याङ्कनकर्ताहरूको निर्णय बमोमिज चीरहरण उपन्यासलाई यो वर्षको पद्मश्री पुरस्कारद्वारा सम्मान गर्ने निर्णय भएको प्रतिष्ठानका संरक्षक तथा गैर आबासीय नेपाली संघका (एनआरएनए) का पूर्व अध्यक्ष जीवा लामिछानेले जनाएका छन् ।

साधना सम्मानबाट काइँला सम्मानित हुने

यस्तै वरिष्ठ साहित्यकार बैरागी काइँलालाई वि. सं. २०७२ को पद्मश्री साधना सम्मानले सम्मानित गरिने पनि प्रतिष्ठानको निर्णयमा उल्लेख छ ।दुई लाख रुपैँया नगद ,अभिनन्दनसहित सम्मानपत्रले काइँलालाई सम्मान गरिने भएको छ ।

काइँलाले पाँच दशकभन्दा बढी समयदेखि नेपाली र लिम्बु साहित्यको श्रीवृद्धिको लागि कलम चलाउँदै आएका छन् ।नेपालका अन्य स्थानीय भाषा र तिनका साहित्यको उत्थान तथा अनुसन्धानमा पनि उनको सक्रिय योदगान रहँदै आएको छ ।

वरिष्ठ साहित्यकार काइँला सहितको नेतृत्वले सुरु गरेको तेस्रो आयाम आन्दोलनले नेपाली साहित्यमा वैकल्पिक चिन्तनलाई प्रवेश गराएको थियो । उनका यिनै अविच्छिन्न योगदानको कदर र सम्मान गर्दै प्रतिष्ठानले यो वर्षको साधना सम्मान अर्पण गर्ने निर्णय गरेको संरक्षक लामिछानेले बताएका छ्न् ।

यसअघि यो सम्मान राष्ट्रकवि माधव घिमिरे, आख्यानकार तथा विद्वान मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी र कलाकारद्वय मदनकृष्ण श्रष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई प्रदान गरिएको थियो ।

पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिनमा प्रदान गरिने व्यहोरा प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।