नेपथ्यमय बन्यो जर्मनी


हृयामवर्ग । नेपालको अग्रणी लोक रक ब्याण्ड नेपथ्यले पहिलोपटक जर्मनीमा कन्सर्ट सम्पन्न गरेको छ । हृयामवर्गस्थित तमु समाजको आयोजनामा ग्रुइन्सपानमा कार्यक्रम सम्पन्न भएको थियो ।

युरोपमा नेपालीहरुको बसोबास एक त छरिएर रहेको छ भने अर्कोतर्फ हृयामवर्गमा थोरै मात्र नेपाली बसोबास गर्छन् । ‘ब्याण्डका माध्यमबाट हाम्रो समुदायको पहिचान र आत्मवल उच्च पार्न सघाउ पुग्ने विश्वासले निम्ता गरेका हौं,’ आयोजक तमु समाजका तर्फबाट कार्यक्रम संयोजक रहेका सुन्दर गुरुङले भने, ‘निम्तो स्वीकार्दै यति टाढा आएर कार्यक्रम प्रस्तुत गर्दै हामीलाई अविष्मरणीय साँझ प्रदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौं ।’

नेपथ्यको सदाबहार पुराना हिट गीतहरुदेखि लिएर भर्खरैका ताजा सिर्जनासम्म अटाएको कार्यक्रम गुरुङ बोलबाट सुरुहुने गीत ‘नासे छ्यावा’बाट थालनी भएको थियो । त्यसपछि नेपथ्यको सर्वकालिन हिट ‘छेक्यो छेक्यो’, ‘चरि मर्‍यो’, ‘जोमसोमे बजार’ हुँदै ‘रेशम’, ‘तालको पानी’, ‘जोगले हुन्छ भेट’ सँगै भर्खरै सार्वजनिक गीत ‘कोशीको पानी यो जिन्दगानी’ सम्म गुन्जिएको थियो।

‘नेपालमा यतिबेला मनसुन चलिरहेको छ । हाम्रा किसान दाजुभाइका निम्ति खेतीलाइ महत्वपूर्ण हुने यो सिजन भए पनि पानी धेरै पर्नेबित्तिकै बाढी र पहिरोको सास्ती हामीले भोग्दै आइरहेका छौं । यतिबेला नेपालका धेरै गाउँहरु अति वर्षाले जन्माएका प्रकोपहरु बेहोरिरहेका छन् । यस्तो बेलामा धेरै संघ संस्थाहरुले उद्धार र राहतका कामहरु अघि बढाइरहेका छन् । तपाईंहरुलाई मनपरेको जुनसुकै संस्थामार्फत भए पनि सहयोगमा हात बढाइदिनुहुन अनुरोध गर्छु ।’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले दर्शकहरुसँग अपील गरे।

हृयाम्वर्गमा आयोजित कन्सर्टमा सहभागीताका निम्ति केहि घन्टा परका सहरहरुबाट समेत मोटरमा आएका दर्शकहरु देखिन्थे । यसरी जर्मनीको शानदार प्रस्तुतीसँगै नेपथ्य अब डेनमार्कको कोपेनहेगनतर्फ लागेको छ । यो स्क्यानडेभियन मुलुकमा पनि नेपथ्यको यो नै पहिलो प्रस्तुती हुनगइरहेको छ । त्यहाँस्थित अमागरवियो हलमा अगस्त २ तारिखका दिन नेपथ्यले लोक रक भाका सुनाउने छ ।

सँधैझैँ यो प्रस्तुतीमा पनि अमृतलाई ड्रमसेटमा ध्रुव, काबोर्डमा सुरज, बेस गितारमा सुविन, गितारमा निरज र मादलमा शान्तिले साथ दिइरहेका छन् ।