डेनमार्कको स्थानिय राजनीतिमा छाउँदै एक नेपाली


प्रकाश ढकाल ।

कोपनहेगन । आगामी वर्ष सन् २०१७ को नोभेम्बर महिनामा हुने स्थानिय निर्वाचनमा कोपनहेगनको ‘नर्थवेस्ट’ क्षत्रबाट नेपाली हरि प्रसाद न्यौपानेले उम्मेदवारी दिने पक्कापक्की भएको छ । उनी डेनमार्कको संसदको सबैभन्दा ठुलो पार्टी सोसल डेमोक्र्याटको तर्फबाट स्थानीय निर्वाचनमा सो क्षत्रबाट उठ्ने छन् ।

Screen Shot 2016-05-11 at 17.14.14

सन् २००८ मा विधार्थीको रुपमा डेनमार्क आएका न्यौपाने स्नातकोत्तर अध्ययन सके पस्चात स्थानिय राजनीतिमा लागेका थिए । सोहि नर्थवेस्ट  क्षत्रबाट सक्रिय रुपमा राजनीतिमा लागेका उनी यती छोटो समयमा पार्टीको राजनीतिमा माथि पुग्ने पहिलो नेपाली पनि हुन् । अघिल्लो वर्ष सम्पन्न राष्ट्रिय निर्वाचनमा सोहि क्षेत्रबाट निर्वाचनमा उठेका सोसल डेमोक्र्याटका उम्मेदवारलाइ सघाउन प्रचार प्रसारमा खटेका थिए ।

त्यसबखत नेपालीहरुलाई स्वयंसेवकको रुपमा परिचालन गरेर राम्रो भूमिका निर्वाह गरेका न्यौपानेले बहुसंख्यक नेपाली र विदेशीहरुको समर्थन प्राप्त देखिन्छ । धेरै नेपालीहरुको बसोबास रहेको क्षत्र रहेकोले पनि उनी निर्वाचनको लागि उत्साहित देखिएका छन् ।

सो नर्थवेस्ट क्षत्र धेरै नेपालीहरुको बसोबास भएको क्षत्र हो । डेनमार्कमा जुनसुकै भिसामा बसेको ३ वर्ष भएपछि स्थानीय निर्वाचनमा मतदान दिन पाइन्छ । स्थानिय निर्वाचनमा मतदान गर्नको लागि स्थानिय नागरिकता प्राप्त गरेको हुनु पर्दैन । राष्ट्रिय निर्वाचनमा मतदान गर्न मात्र यहींको नागरिकता हुनु पर्दछ । यो कारणले न्यौपानेलाइ निकै फाइदा पुग्ने देखिन्छ ।

नेपालमा चितवन घर भएका न्यौपाने स्व. कुबिर प्रसाद न्यौपाने र आमा स्व. मणि कर्ण न्यौपानेका काइँला छोरा हुन् । हाल उनी दोभासेको रुपमा पनि काम गर्छन । साथै युनियन प्रतिनिधि बनेर कम्पनीमा काम गर्ने साथीभाई हरुलाई काम गर्ने तरिकाका बारेमा, उनीहरुले पाउने सुविधाहरु तलब, पेन्सन, सुत्केरी बिदा, कामबाट पाइने बिदा, ट्रेनिङ्ग आदिका बारेमा सचेत गराउने कार्यमा सरीक छन् । उपभोक्ता समिति सदस्यको रुपमा पेन्सनका बारेमा व्यापक जानकारी गराउने, कामदारहरुको पेन्सन पाउने उमेरको बारेमा राजनीतिज्ञहरुसंग छलफल चलाउने लगायतका कार्यहरु पनि गर्दै आएका छन् ।

२०१२ मा डेनमार्कको सोसेल डेमोक्रेट्स पार्टिको सदस्य बनेका उनी कोपनेगनको नर्थवेस्ट क्षेत्रको बिस्पबियामा व्यवस्थापक समिति सदस्य हुँदै अहिले २०१७ को नोवेम्बेर मा हुन गैरहेको स्थानीय निर्वाचनमा पार्टीले उनलाई कोपन्हेगनको नर्थवेस्ट क्षत्रबाट उम्मेदवार दिन लगाएको हो ।

सो क्षत्रबाट सात सदस्यहरु छानिन पाउने छन् जसले धेरै मत ल्याउँछ त्यहि सात जना छानिने प्रणाली छ । छानिनका लागि जम्मा जनसंख्याको २ % मात्र भोट आवश्यक हुन्छ । यसको मतलब उनलाई करिब एक हजार भोटको  आवश्यक देखिन्छ । सो निर्वाचनमा कोपनहेगनमा बसोबास गर्ने सबैले भोट हाल्न पाउने छन् ।

उनी छानिएको खण्डमा कोपनहेगन नगरपालीकामा पार्टीको तर्फबाट नीति निर्माण तथा विकासको बारेमा योजना बनाउने तहमा पुग्ने छन् र बढी भोट प्राप्त गरेको खण्डमा पार्टीले एक क्षेत्र वा शहरको प्रमुख व्यक्तीको रुपमा कोपनहेगन नगरपालीकामा पठाउन पनि सक्नेछ । कोपनहेगनमा ३५ क्षेत्र तथा शहर रहेका छन् ।

हाल न्यौपाने अभियान नेपाल डेनमार्क नामक परोपकारी संस्थाका कार्यक्रम संयोजक तथा इनास डेनमार्कका प्रवक्ता पनि हुन् । भविष्यमा राजनीतिक विश्लेषक बन्ने सोच लिएका न्यौपाने मेहनतले भाग्यलाई पनि जित्न सकिन्छ, परिस्थिति सहज नभए पनि असम्भव भने केहि पनि छैन, एक्लै केहि गर्न नसकिने र सधैं एक स्वयात्त समुहको जरुरी
हुने आदि कुरामा विश्वास राख्छन ।

स्थानिय राजनीतिमा लागेर डेनमार्कको पूर्ण समाजको प्रतिनिधित्व गर्ने भए पनि उनले आफनो ध्यान नेपाली समाज र यसको समानान्तर बिकासको बारेमा हुने साथै आंफुले जानेका नीति नियमका कुरालाइ समयमै जानकारी गराएर सचेत गराउनमा केन्द्रीत हुने बताए । साना तिना संघ संस्थाहरुका समस्याहरुको उजागर गरि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र  सचेतना फैलाउने खालका कार्यक्रमहरु संचालन गर्ने र गर्न प्रेरित गर्ने कुरा उनले आफनो उद्धेश्यमा राखेका छन् ।

डेनमार्कमा नेपालीहरुको आगमनको इतिहाँस त्यती लामो छैन । विधार्थीको रुपमा सन् २००२ पछि मात्र नेपालीहरु आउन थालेका थिए । करीब तीन हजारको हाराहारीमा डेनमार्कमा नेपालीहरु छन् । यी मध्य हाल धेरैले स्थायी बसोबासको अनुमती प्राप्त गरिसकेका छन् भने यहिँको नागरिकता लिने क्रम बिस्तारै बढदो छ । नियमनमा कडाइका कारण पछिल्लो पटक नेपालीहरुको आगनम संख्या घट्दो रुपमा रहेको छ ।