एनआरएनए युरोपियन बैठक कस्तो बनाउँने ?


– बसन्त रानाभाट
गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) युरोपियन क्षेत्रीय बैठक तथा महिला सम्मेलन आगामी जुलाई ३० र ३१ तारिख डेनमार्कको कोपेनहेगनमा हुँदै छ। सन् २०१४ जुन ७ र ८ मा बार्सिलोनामा सातौ युरोपियन बैठक तथा पाँचौ महिला सम्मेलन सम्पन्न भए पछि सन् २०१५ का लागि डेनमार्क लागि तोकिएको थियो। तर गत अप्रिलमा देशमा विनाशकारी भूकम्प गए पछि बैठकलाई स्थगित गरियो।

यद्दपी टेलीकन्फ्रेन्स मार्फत आठौ युरोपियन बैठक सम्पन्न भएको जानकारी गैर आबासीय माँझ पुगेको थियो। त्यसैले आगामी बैठकलाई आठौ भन्ने वा नवौ यो बिषयमा नै टुंगो लाग्ला। डेनमार्कमा हुने भनेर गत बर्ष स्थगित भएको एनआरएनहरुको बैठक,पुन: कोपेनहेगन स्थित हिल्टन होटलमा हुने पक्का भएको छ, यसले डेनमार्कबासी नेपालीहरुलाई पक्कै पनि खुशी तुल्याएको छ।

बैठकका बारे दुई थरी भनाई

गैर आबासीय नेपाली संघका क्षेत्रीय बैठकहरुका बारेमा थुप्रै टिकाटिप्पणी हुँदै आएका छन्। एकथरीले भन्दै आएका छन्,ठुला ठुला तारे होटलमा बैठक बस्नुको खासै औचित्य रहँदैन। पाउण्ड,युरो र डलर खर्च गरेर तारे होटलमा बैठक राख्नु,भेटघाट र मनोरन्जनको संघा दिदै आएका छन्। तर एनआरएनएले पछिल्ला बर्षहरुमा यी भ्रमहरुलाई चिर्दै आएको छ। बैठकबाट तय भएका समाजिक,परोपकारी कामहरुले नै भ्रमलाई बिस्तारै चिर्दै अगाडि बढ्न संघ सफल भएको हो।

अर्को तर्फ संघको अभियानमा लाग्दै आएकाहरुले बैठकलाई महत्वपूर्ण ठान्दै आएका छन्। तथापि बैठक समापन पछि जारी हुने घोषणापत्र कार्यान्वयन भएनन् भन्ने गुनासो भने प्रशस्तै सुनिन्छ । तर पनि बैठकलाई औचित्य सम्झेर नै लगातार रुपमा सहभागिता जनाउँदै आउँने गैर-आबासीयहरुको खासै कमी देखिदैन।

युरोपियन बैठक कहाँ कहाँ भए ?

गैर आबासीय नेपाली संघ अन्तर्गत युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुलाई छलफलमा केन्द्रित गर्दै गरिने बैठक सन् २००७ जुलाईमा लण्डन देखि सुरुवात भएको हो। पहिलो बैठक गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युकेले आयोजना गरेको थियो। यो सँगै सन् २००८ मा दोस्रो बैठक बेल्जियममा र तेस्रो बैठक सन् २००९ को अगष्ट ७ र ८ तारिख पोर्चुगलमा सम्पन्न भयो।

यस्तै चौथो बैठक सन् २०१० को जुलाई ३१ र अगष्ट १ तारिख फ्रान्समा र पाँचौ बैठक सन् २०१२ मा जुन १ देखि ३ तारिख नेदरल्याण्डमा सम्पन्न भएको थियो। यस्तै छैटौ बैठक भने एनआरएनए स्बिजरल्याण्डले आयोजना गर्यो। सन् २०१३ जुन २२ र २३ तारिख जुरिचमा छैटौ एनआरएनए युरोपियन बैठक तथा चौथो महिला सम्मेलन पनि सफलता पुर्बक पुरा भएको थियो।

“सातौ युरोपियन बैठक तथा पाँचौ महिला सम्मेलन”, एनआरएनए स्पेनको आयोजनामा सन् २०१४ जुन ७ र ८ तारिख बार्सिलोनामा सम्पन्न भए पछि आठौ बैठक सन् २०१५ का लागि डेनमार्कलाई तोकिएको थियो। सन् २०१५ जुन २० र २१ को लागि कोपेनहेगनमा तोकिएको बैठक,अप्रिलमा गएको विनाशकारी भूकम्पका कारण स्थगित भयो। र पुन आगामी जुलाई ३० र ३१ तारिखका लागि कोपेनहेगनका लागि नै बैठक तोक्दै तयारी थालिएको छ।

२७ एनसीसीको साझा बैठक

बिशेष गरी युरोप क्षेत्रमा रहेका २७ बटा राष्ट्रिय समन्वय परिषदहरुको छलफल र गतिबिधिहरु जोडेर युरोपियन क्षेत्रीय बैठकको आयोजना गरिएको बुझिन्छ। युरोप क्षेत्रमा अष्ट्रिया,बेलारुस,बेल्जियम,बुलगेरिया,साईप्रस,चेकगणतन्त्र,डेनमार्क,फिनल्याण्ड,फ्रान्स,जर्मनी,ग्रिस,हंगेरी,आयरल्याण्ड,ईटली,लक्जम्बर्ग र नेदरल्याण्डमा एनआरएनका संजालहरु फैलिएका छन्।

यस्तै युरोप क्षेत्रमा नर्बे,पोल्याण्ड,पोर्चुगल,रोमानिया,रसिया,स्लोभेनिया,स्पेन,स्विडेन,स्बिजरल्याण्ड,युके र युक्रेन जस्ता मुलुकहरुमा राष्ट्रिय समन्वय परिषदहरु गठन भईसकेका छन्। साथै राष्ट्रिय समन्वय परिषदमा गठन भएका महिला फोरमहरुको बैठकलाई यो सँगै महिला सम्मेलनको रुपमा पनि जोडिएको छ। यस अघि सम्म पाँचौ महिला सम्मेलन बार्सिलोनामा सम्पन्न भईसकेको छ।

एनसीसीहरुले गतिबिधि राख्न नपाएको गुनासो

युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरु गतिबिधिलाई समेट्ने तथा छलफल गर्ने भनेर युरोपियन बैठक गर्दै आए पनि एनसीसी राष्ट्रहरुलाई समय नपुग्ने गरेको धेरैको गुनासो रहेको छ। बिभिन्न कार्यदलका छलफल तथा योजनामा नै समय जाने हुँदा,राष्ट्रिय समन्वय परिषदका गतिबिधिहरु ओझेलमा पर्ने गरेको गुनासो सुनिदै आएको छ।

- बसन्त रानाभाट
– बसन्त रानाभाट

सबै भन्दा पहिले यस क्षेत्रमा रहेका राष्ट्रिय समन्यव परिषदहरु (एनसीसी) गतिबिधिहरु,समस्या,कार्ययोजना सहितको प्रतिबेदनवाट बैठक सुरु हुनु पर्ने धेरै गैर आबासीयहरुको माग रहेको छ। केन्द्रिय कार्ययोजना तथा हरेक क्षेत्रहरुलाई समेट्दै एनआरएन क्षेत्रीय सम्मेलन पनि हुने हुँदा,प्राय क्षेत्रीय बैठकहरुमा सो क्षेत्रमा रहेका राष्ट्रिय समन्वय परिषदहरुलाई नै समेटेर सोहि सँग सम्बन्धित घोषणा पत्र जारी गर्न सके बैठकले सार्थक पाउँने कतिपयको बुझाई रहेको पाईन्छ।

पाहुना बिबाद

प्राय: हुने गरेका एनआरएनका सम्मेलन तथा बैठकहरुमा कतै न कतैबाट, नेपालवाट आउँने पाहुनाहरुको बारेमा बिबाद आउँने गरेको पाईन्छ। यस्ता हुने गरेका बिबादहरुको अन्त्यका लागि सम्बन्धित क्षेत्रका संयोजक तथा उप-संयोजकहरु एबं आयोजक राष्ट्र बीच छलफल गरेर पारदर्शिता ल्याउँन सकेमा यसको निराकरण गर्न सकिन्छ।

बैठक वा सम्मेलनमा बोलाउँने पाहुनाहरु बारे सामुहिक छलफल पछि छनोट गर्ने,नेपालमा निमन्त्रणा पठाईने पत्रकार,कलाकार वा अन्य पाहुनाहरु,बैठक वा सम्मेलनलाई बुझेको,एनआरएनए अभियान बारे जानकार रहेको तथा सम्मेलन पछि नेपाल फर्कने आधारलाई पनि मध्यनजर गर्दै निमन्त्रणा पठाउँन सकेमा,दक्षता एबम योग्यताको पनि उचित सम्मान र कदर हुने देखिन्छ। यसरी छनोट गर्दा यस बारे खासै बिबाद हुने देखिदैन।

यसपटक युरोपियन बैठकमा,यो पनि

क्षेत्रीय बैठकहरुमा बिशेष त सो क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुलाई नै केन्द्रित गरेर बैठक बस्नु नै उपयुक्त हो। तर यसपटकको युरोपियन क्षेत्रीय बैठकमा एनआरएनले योजनामा ल्याएका भुकम्प पिडितका लागि एक हजार घर निर्माण तथा आफ्नै भवन निर्माणको प्रक्रिया बारे गंभिर छलफल गरी पुरा गर्न जरुरी छ।

बिशेष त देशमा भूकम्प गएको एक बर्ष बितिसकेको बेला,आफ्नो योजनालाई समयमा नै पुरा गर्न सके एनआरएनए प्रतिको चासो र बिश्वास दुवै बढ्ने देखिन्छ। तर आशा गरौ आगामी जुलाई सम्म, केहि फड्को मारिसक्ने छ।

एउटै मञ्च बनाउँने अबसर

बेला बखतमा गैर आबासीय अभियन्ताहरुले,कार्यक्रममा खादा सम्मान तथा आसानग्रहण धेरै भएको यसलाई परिबर्तन गर्न जरूरी रहेको भन्दै प्रतिक्रिया दिदै आएका छन्। तर परिबर्तन आँफैबाट गर्न सके यो एउटा राम्रो सुरुवात हुन सक्छ।

प्राय: सम्मेलन तथा बैठकहरुमा दुई बटा मञ्च देखिदै आएका छन्। एउटा अगाडी पट्टी देखिने मञ्च जहाँ प्रमुख अतिथि,केन्द्रिय पदाधिकारी तथा अन्य अतिथिहरु बस्ने गरेको देखिन्छ। त्यसको ठिक अगाडी जहाँ सर्बसाधारण वा गैर आबासीयहरु रहन्छन्।

हुन त यो एनआरएन भित्रको मात्र परम्परा होईन,हुने गरेका ठुला ठुला औपचारिक कार्यक्रमहरुमा त्यस्तै देखिन्छ। तर यो उपयुक्त होईन जस्तो लाग्छ भने परिबर्तन हामी आँफैले किन नगर्ने ? सुरुवात आँफैबाट किन नगर्ने ?

एउटै मञ्च बनाएर कार्यक्रम गर्न सकेमा, युरोपियन बैठकले सबै एनसीसी राष्ट्रहरुलाई पनि शिक्षा दिन सक्छ। सबैले यसलाई सिको गरे परिबर्तन सम्भव पनि छ। तल र माथि आसनग्रहणका लागि ओहोरदोहोर गर्ने परम्परालाई अन्त्य गर्दै एउटै मञ्च बनाउँन सके,समयको पनि प्रशस्त बचत हुने देखिन्छ।