सचिबमा उम्मेदवारी “थप जिम्मेवारी सहितको निरन्तरता हो-अर्जुन कुमार श्रेष्ठ(अन्तरबार्ता)


गैर आवासीय नेपाली संघ (एनआरएन) को युरोप संयोजकको जिम्मेबारीबाट प्रशंसा बटुलीरहेका बेल्जियमका युवा ब्यबसायी एंव समाजसेवी अर्जुनकुमार श्रेष्ठले केन्द्रिय सचिब पदका लागि उम्मेद्‍वारी घोषणा गरेका छन्। आगामी अक्टोबर काठमाडौमा हुने सातौं विश्व सम्मेलन सँगै युरोप संयोजकबाट बिदा हुनै लाग्दा श्रेष्ठले सचिबमा आफ्नो उम्मेद्‍वारी घोषणा गरेका हुन्।

सन् २००६ देखि गैर आवासीय नेपाली अभियानमा समाहित भई सन् २००९ बाट संघका विभिन्न पदमा रही हाल यूरोप क्षेत्रिय संयोजकको जिम्मेबारी सम्हाली रहेका श्रेष्ठ सँग भावी योजना, उम्मेद्वारी घोषणा र प्रतिबद्दता बारे नेपालीनेपाली डटकमले गरेको कुराकानी

तपाई कस्तो हुनुहुन्छ ? अब एनआरएनमा चुनाब लाग्यो क्यारे हैन ?

ठिकै छु। युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरुको अधिबेशनले गर्दा बिगतका दुई तिन महिना अति नै व्यस्त भए। युरोपका विभिन्न मुलुकहरुमा अधिवेशन सफलता पूर्वक सम्पन्न भए। म नेपालीनेपाली डटकम मार्फत फेरि एक पटक सबै राष्ट्रिय समन्वय परिषदका नयाँ कार्यसमितिका साथीहरुलाई हार्दिक बधाई एंव शुभकामाना दिन चाहन्छु।

अब यसलाई चुनाब लागेको छ भन्नु भन्दा पनि एनआरएनको सातौ विश्व सम्मेलनलाई सफलता पूर्वक सम्पन्न गर्नु पर्ने सबैको दायित्व छ। यसैमा मेरो तर्फबाट पनि आफ्नो जिम्मेवारी छ। निर्वाचन भनेको स्वाभाविक रुपमा अधिवेशन भित्रका प्रक्रियाहरु हुन्।

एनआरएन सचिवमा उम्मेदवारी घोषणा गर्नु भएछ, महासचिव वा उपाध्यक्ष तिर त बढ्नु भएन नि ?

हेर्नुहोस् पद घोषणा मात्र गर्नलाई, जुन पनि घोषणा गर्न सकिन्छ। तर उम्मेद्वारी घोषणा गर्नु मात्र ठुलो कुरा होईन। एनआरएन अभियानमा लाग्न अध्यक्ष, उपाध्यक्ष वा महासचिव नै हुनु पर्छ भन्ने छैन। म युरोप संयोजक रही आफ्नो क्षमता, बल, सिप जे जे सम्भव छ, त्यसको प्रयोग गरेर अभियानमा लागि परेको छु।

मात्र के भने, अव संयोजक पछि सचिवको जिम्मेवारी नै उपयुक्त हो भन्ने मलाइ लाग्छ। घोषणा नै गर्नलाई त मैले छैठौ अधिवेशनमा नै सचिव, महासचिव भन्न पनि सक्थे। तर बिस्तारै आफ्नो अनुभव बटुल्दै, जिम्मेवारी पदमा पुग्दा संघलाई नै फाईदा हुन्छ। यसको उचाई अझ बढाउन सकिन्छ।

उम्मेदवारहरुका एजेण्डाहरु त ठूला-ठूला देखिन थालेका छन तपाईले कस्तो बनाउनु भएको छ ?

हामी एनआरएनको अभियानमा निरन्तर लागिरहेका छौ। हामीले उम्मेदवारहरुका एजेन्डालाई नकारात्मक रुपमा लिनु हुदैन। सम्मेलन मार्फत नयाँ नेतृत्व आए पछि, त्यही टिमले नै दुई वर्षमा गर्नु पर्ने कामहरु के के हुन भनि तय गर्ने छ। त्यसका लागि अहिले सम्म आर्जन गरेको मेरो अनुभवलाई त्यहाँ पोख्नेछु। साथै कार्यान्वयन त्यसको लागि सदैव निस्वार्थ लाग्नेछु।

भूकम्प पछि एनआरएनको राहत बितरणमा सहभागी बन्दै
भूकम्प पछि एनआरएनको राहत बितरणमा सहभागी बन्दै

मुख्यत मैले संघको अभियानको चुनौति र अवसरहरुलाई निकटबाट बुझ्ने मौका पाएको छु। संघका उदेश्यहरु प्राप्तिका लागी सक्रिय रहदै आएको छु। गैर आवासिय नेपाली संघका अहिले सम्मका सफलताहरुबाट सन्तुष्ट भएर बस्ने बेला छैन। एनआरएन अभियानका लक्ष्य र उपलब्धिहरुलाई प्रत्येक गैर आवासीयहरु नेपालीहरुमाँझ पु‍र्‍याउन सकिएमा संघको सदस्यता संख्यामा पनि बृद्दी गराउन सकिने छ। त्यसो भए मात्र हामी संस्थागत एंव आर्थिक रुपमा रुपमा सबल, सक्षम र समावेशी हुनेछौ।

त्यसै गरी मुलुकको भूकम्पबाट प्रभावित क्षेत्रको पुर्ननिर्माणको लागि संघले तय गरेको नीति अनुसार निरन्तर लाग्नेछु। यहि उत्तरदायित्व बोध र यिनै चुनौतीका बीच, ‘मेरो उम्मेदवारी थप जिम्मेवारी सहितको निरन्तरता हो।‘

युरोप क्षेत्रको संयोजक बनेर के-के गर्नु भयो ? तपाईलाई मत किन दिने ?

गैर आवासीय नेपाली संघको युरोप क्षेत्र संघको सबैभन्दा बढी राष्ट्रिय समन्वय परिषदहरु भएको क्षेत्र हो। यसै अनुरुप यस क्षेत्रले संघका योजना र कार्यक्रमहरुमा आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ। म राष्ट्रिय समिति गठन भएका २७ मध्ये अधिकांश देशहरूमा स्वयं सहभागी भई एनआरएनए अभियानलाई सबल र सुदृढ बनाउन समाहित भएको छु। त्यसैगरी सँघका विभिन्न इकाईहरूमा प्रभावकारी पुल र समन्वयकर्ताको रूपमा अग्रसर रहँदै आएको तपाईहरुलाई अवगत नै छ।

संक्षिप्तमा भन्नु पर्दा भूकम्प पीडितको उद्धार कार्यमा प्रत्यक्ष रूपमा संलग्न रही युरोप क्षेत्रबाट राहत कोषमा रकम संकलनका लागि निरन्तर काम गर्दै आईरहेको छु। नेपालमा उत्पादित वस्तुहरुको प्रबर्द्धनका लागि विभिन्न मेलाहरू आयोजना गर्ने काममा पनि मेरो सहभागिता हुँदै आएको छ। नेपाली भाषा,साहित्य, कला,संस्कृति, खेलकुद र कुटनीतिक क्षेत्रको बिकाश र विस्तारका निम्ति अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरू युरोपमा सम्पन्न भएका छन्।

यी कार्यक्रमहरूमा सदैव अग्रणी भूमिका निर्वाह गर्न पाएकोमा गौरवान्वित छु। मैले संघको स्थापना काल देखि गर्दै आएको कामलाई मुल्याङ्कन गरेर नै गैर आवासीय नेपालीहरुले मलाई मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु।

अन्त्यमा के भन्न चाहानु हुन्छ ?

बिशेषत सबै गैर आबासीय नेपालीहरुलाई आसन्न सातौ अधिबेशनलाई भब्य रुपमा सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग पुर्याउन अपिल गर्न चाहान्छु। त्यसैगरी बिभिन्न पदमा उम्मेद्वारी घोषणा गर्नु भएका मित्रहरुलाई पनि हार्दिक शुभकामना ब्यक्त गर्दछु।

र अन्त्यमा मेरो गैर आवासीय नेपाली संघको अभियानमा निरन्तर लाग्ने चाहनालाई मत दिएर हौसला प्रदान गर्नु हुनेछ भन्ने बिश्वास लिएको छु।