युरोपमा कुन कुन देशमा कस्तो छ, एनआरएन अधिबेशन रन्को ?


– वसन्त रानाभाट/प्रकाश ढकाल
गैर आबासीय नेपाली संघको आगामी अक्टोबरमा हुने बिश्व सम्मेलन नजिकिदै गर्दा प्रबासमा राष्ट्रिय समन्वय परिषदका अधिबेशनहरुले माहोल तताएका छन् । प्रत्येक दुई दुई वर्षमा नेपालमा हुने विश्व सम्मेलन अगावै राष्ट्रिय समन्वय परिषदका अधिबेशन सकीसक्नु पर्ने भएकोले पनि माहोल तातेको हो।

गैर आबासीय नेपाली संघका युरोपमा रहेका २७ बटा राष्ट्रिय समन्वय परिषद मध्ये अहिले सम्म ३ बटा मुलुकहरुमा मात्र अधिवेशन सम्पन्न गरिसकेका छन् । युरोपका १६ बटा मुलुकहरुले अधिबेशनको मिति तय गरिसके भने ७ बटा राष्ट्रिय समन्वय परिषदले अहिले सम्म पनि मिति तय गर्न सकेका छैनन्।

गैर आबासीय नेपाली संघको प्रभाब प्रबासमा बढिरहेका बेला विदेशमा क्रियाशील राजनीतिक निटक संगठन,जातीय क्षेत्रीय संघ संस्थाहरु पनि अधिबेशनको रौँनकमा डुबेका छन्। बिभिन्न देशहरुमा कार्यसमितिका अधिकांश पदहरुका लागि राजनीतिक निकट संगठनहरु प्यानल नै बनाएर नेतृत्वको लागि सक्रिय बनेका छन्।

अधिवेशन नजिकिंदै जाँदा ‘कोठे बैठक’ र छुट्टाछुट्टै घरदैलो कार्यक्रमहरु पनि आ- आफ्नो ढंगबाट शुरु गरेका छन्। पछिल्लो क्रममा बिदेशमा खोलिएका जातीय तथा क्षेत्रीय सँस्थाहरुले पनि संघमा आबद्द हुन निकै सक्रियता देखाएको पाईएको छ।

युरोपमा कहाँ कहाँ भयो अधिबेशन ?

गैर आबासीय नेपाली संघ युरोप क्षेत्र अन्तर्गत नर्बे,फिनल्याण्ड र स्पेन गरी ३ बटा मुलुकमा अधिबेशन सम्पन्न भईसकेको छ। युरोपमा सबै भन्दा पहिले नर्बेमा मे १६ तारिकमा नै अधिबेशन सम्पन्न भएको हो। राष्ट्रिय समन्वय परिषद् नर्वेको चोथौ अधिबेशनबाट कुमार पण्डित अध्यक्षमा निर्बाचित भएका थिए ।अध्यक्षका अर्का प्रत्यासी संजीब थापालाई ५१ मतले हराउँदै पण्डित बिजयी भएका हुन्।

यस्तै गत जुन २७ मा राष्ट्रिय समन्वय परिषद फिनल्यान्डको अधिबेशनले बाल कृष्ण श्रेष्ठ अध्यक्षतामा नयाँ कार्यसमिति निर्बाचित गरेको छ। यस्तै गत जुलाई २६ तारिक बार्सिलोनामा राष्ट्रिय समन्वय परिषद स्पेनको चौथो अधिबेशन पनि सम्पन्न भयो।अधिबेशनले आईसीसी सदस्यमा एकराज गिरीलाई प्रस्तावित गरेको छ भने, मुक्त बहादुर गुरुङलाई अध्यक्षतामा निर्बाचित गर्यो।

अधिबेशन सम्पन्न गर्न गैर आबासीय नेपाली संघका महासचिब कुमार पन्त र युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ बार्सिलोना आएका थिए। यस्तै नर्बे र फिनल्याण्डको अधिबेशन सम्पन्न गर्न युरोप उप संयोजक सोम सापकोटा पुगेका थिए।

अगष्टमा मात्र १२ बटा देशमा अधिबेशन हुँदै

गैर आबासीयहरुको लागि युरोप क्षेत्र अगष्टको गर्मी सँगै मज्जाले तात्ने भएको छ। अगष्ट महिनामा मात्र १२ बटा राष्ट्रिय समन्वय परिषदहरुका अधिबेशनहरु सम्पन्न हुने भएका छन्। तर पहिलो गाँसमा ढुंगा भने झैँ ईटलीमा अगष्ट २ मा हुने भनेको अधिबेशन भने सम्पन्न हुन सकेको छैन। नेतृत्वका लागि बिबाद हुँदा अधिबेशन सम्पन्न हुन नसकेको हो। युरोप क्षेत्रका संयोजक अर्जुन कुमार श्रेष्ठ ईटलीमा पुगेर छलफल गरेका छन्। सहमतिको प्रयास जारी रहेकोले केहि दिन भित्र टुङ्गो लाग्ने अपेक्षा गरिएको छ।

तर अगष्ट ९ तारिक सम्पन्न हुने भनिएको राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको पाँचौ अधिबेशनबाट बन्ने नयाँ कार्यसमिति सर्बसम्मत हुने पक्का भएको छ। आगामी कार्यकालको लागि आइसीसी सदस्यमा श्रीराम कंडेल,अध्यक्षमा हिमाल गुरुङ ,बरिष्ठ उपाध्यक्षमा केशबराज पाण्डे,उपाध्यक्षमा महेन्द्र सुबेदी र झलक जिसी सर्बसम्मत चयन भएका छन्।

अगष्ट १६ तारिक भने स्विजरल्याण्ड,चेक रिपब्लिक र पोर्चुगलको अधिबेशन हुँदै छ। एनआरएनए स्विजरल्याण्डको अध्यक्षका लागि हिरा वाल गुरुङ र तेञ्जिङ्ग शेर्पाले उमेद्वारी घोषणा गरेका छन्। पोर्चुगलको नेतृत्वमा भने हेमन्त सेढाई, भिम केसी `कमल’ र खेमराज रानाभाटको नाम चर्चामा छ।

यसको ठिक १ साता पछि अगष्ट २३ मा बेल्जियम,रोमानिया र फ्रान्समा अधिबेशन हुँदैछ। सधै चर्चा र बिबादमा बल्झने बेल्जियममा यस पटक सहमतिको प्रयास तिब्र रुपमा थालिएको छ। नेपाली जनसम्पर्क समिति पक्षधरहरुबाट गंगाधर गौतम र सीता सापकोटाले अध्यक्षमा उमेद्वार घोषणा गरेको भएँ पनि पछि सापकोटाले गौतमलाई समर्थन गरिन्।  गौतम सँगै अध्यक्षका लागि सरु चापागाई, र सि पि भट्टको नाम पनि चर्चामा छ। निर्बाचन भने ३० तारिकलाई तोकिएको छ।

यता अगष्ट २४ तारिक हुने डेनमार्कको अधिबेशनलाई पनि बढी महत्वका हेरिएको छ। डेनमार्कमा पनि एकआरएनको रौनक चलिरहेको छ । अधिवेशन नजिकिंदै जाँदा सदस्य संख्या बढाउने र प्रभाव पार्ने काम पनि बढ्दै गएको देखिन्छ । हालका अध्यक्ष दिपक सापकोटाले बताए अनुसार सहमतीमा नयाँ नेतृत्व चयन हुनेमा उनी विश्वस्त देखिन्छन् तर संघ संस्थाको कार्य हेर्दा त्यो गर्नको लागि तत्परतामा कमी देखिएको छ ।

यस्तै अगष्ट महिना कै २५ तारिक,आयरल्याड,२९ मा स्विडेन र ३० मा राष्ट्रिय समन्वय परिषद साईप्रसको अधिबेशन सम्पन्न हुँदै छ।

सेक्टेम्बरमा चार मुलुकमा अधिबेशन हुँदै

युरोप क्षेत्रमा अधिबेशन सम्पन्न गर्न अगष्ट महिनामा धेरै ठुलो चाप देखिए पनि सेक्टेम्बरमा भने चार मुलुकहरु मात्र अधिबेशन मिति तय भएका छन्। तर अन्य ७ मुलुकहरुमा अधिबेशन बारे अहिले सम्म मिति तय नभएकाले यही महिनामा थपिने भने निश्चित प्राय: नै छ। सेक्टेम्बर १ तारिकको शुरुवात भने जर्मनीबाट हुने भएको छ। यस्तै ६ तारिक राष्ट्रिय समन्वय परिषद रसिया र पोल्याण्डले अधिबेशनको आयोजना गरेका छन्।

सेक्टेम्बर महिनामा नै हुने एनआरएन युकेको अधिबेशनलाई धेरै महत्वका साथ हेरिएको छ। सधै बिबादमा फसिरहने युकेको अधिबेशनले यस पटक कस्तो सन्देश दिने हो,सबैको प्रतिक्षाको बिषय बनेको छ। युकेको अधिबेशनले केन्द्रलाई समेत ठुलो असर पार्ने हुँदा निकै महत्वका साथ हेर्ने गरिन्छ।

सधै बिबाद मिलाउँन कठिन पर्ने राष्ट्रिय समन्वय परिषद बेलायतले अधिबेशनको मिति सेक्टेम्बर २० तारिक तय गरेको थियो। तर ४७ औ आईसिसि बैठकले सबै राष्ट्रिय समन्वय परिषदले १५ सेप्टबर अगाडि नै राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नु पर्ने निर्देशनजारी गर्दै युके अध्यक्ष महेन्द्र कंडेललाई पत्राचार गरिसके पछि भने अधिबेशनको मिति अघि सारिएको छ।

संघले १२ सेप्टेम्बरमा अधिबेशन र १३ सेप्टेम्बरमा कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ।अध्यक्ष पदका लागि मुख्यत: मुछेत्र गुरुङ,हीराधन राई,सूर्य नेम्वाङ लगायतको नाम चर्चामा रहे पनि आधा दर्जनले दावी गरेका छन्।

७ मुलुकले अझै तोकेनन् अधिबेशन मिति

अगष्ट १५ भित्रमा अधिबेशन गर्न नसके बिश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन नपाईने भनी केन्द्रको कडा निर्देशन जारी गर्दा पनि पनि अझै युरोपका ७ मुलुकमा अधिबेशनको मिति तय भएको छैन। मिति तोकेर समयमा नै अधिबेशन सम्पन्न गराउन युरोप क्षेत्रले कसरत गरिरहेको छ।

अहिले सम्म मिति समेत नतोक्ने राष्ट्रिय समन्वय परिषदहरुमा अष्ट्रीया,बेलारुस,बुल्गेरिया,ग्रिस,हंगेरी,स्वोलोभानिया र युक्रेन रहेको युरोप उप संयोजक सोम सापकोटाले जानकारी दिए।

गैर -आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको बिधान २०१३ को दफा २४ को उपदफा २४,१ अनुसार राष्ट्रिय समन्य परिषदले बिश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन को मिती भन्दा बढीमा ६ महिना बाँकी रहने गरी राष्ट्रिय महाधिवेशन गर्नु पर्ने प्राबधान रहेको छ।

राष्ट्रिय महाधिवेशन सम्पन्न गरी आइसिसिले तोकेको पंजीकृत शुल्क प्रति व्यक्ति ५ अमेरीकी डलर,सदस्यहरुको नामबली र आईसिसि सदस्यता शुल्क प्रति व्यक्ति ५०० अमेरीकी डलर सचिवालयमा पठाउनु पर्ने महाधिवेशन नियमावलीमा उल्लेख रहेको छ।