खरेल थोक पुनर्स्थापना केन्द्रमा पक्की भान्सा कोठा बन्दै


वसन्त रानाभाट/बार्सिलोना
स्पेनको नेपाली समुदायले संकलन गरि पठाएको रकमले काभ्रेको सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रमा पक्की भान्सा कोठा बनाउने कार्य अन्तिम चरणमा पुगेको छ। बाँसले बारेको अस्थायी भान्साघर मात्र भएको पुनर्स्थापना केन्द्रमा अब भने पक्की भान्सा घर बन्न लागेको हो।

भान्सा कोठा बनाउँन गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन र स्थानीय मिडिया नेपालीनेपाली डटकमले संयुक्त पहल गरि रकम संकलन गरेका थिए। स्पेनको नेपाली समुदाय लगायत संयुक्त राज्य अमेरिका र फिनल्याण्डमा रहेका केहि नेपालीहरुले पनि सहयोग पठाए पछि करिब २ लाख ४० हजार रुपैयाँ (२ हजार २ सय ६६ युरो) संकलन भएको थियो । नेपालीनेपाली डटकमले पुनर्स्थापना केन्द्रमा रहेका बालबालिका र भान्साकोठाको अबस्था बारे भिडियो तयार गरि सहयोगको अपिल समेत गरेको थियो। Screen Shot 2015-07-24 at 23.16.44तस्बीर:- यस्तो थियो पुरानो भान्सा कोठा

गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद सदस्य दिपक खरेल, पुनर्स्थापना केन्द्रमा पुगी अवलोकन गरेर स्पेन फर्किए लगत्तै गत मार्च महिनामा रकम संकलन अभियान शुरु गरिएको थियो। सहयोग संकलन समितिका संयोजक समेत रहेका खरेलले भान्सा घर निर्माण कार्य अन्तिम चरण पुगेकोमा खुशी ब्यक्त गरेका छन्। खरेलले भने,” सबैको सहयोगका कारण केन्द्रमा रहेका छात्रछात्राहरुलाई अब खाना बनाउँन केहि सहज हुने देखियो,जुन हामीले सोचेका थियौ त्यो पुरा हुँदैछ,सबैले साथ दिएर नै सम्भव भएको हो। “

संकलन भएको रकम संरक्षणको लागि सनराईज बैङ्क पुतलीसडक शाखाका म्यानेजर बिष्णुप्रसाद उप्रेतीले जिम्मेबारी लिदै निर्माण कार्य शुरु गरेका हुन्। यस्तै स्थानीय शिक्षक तथा समाजसेबी रमेश खरेलले भान्सा घर निर्माण कार्यमा रेखदेख गर्दै आएका छन्। गाँउमा कामदारको अभाव तथा भूकम्पका कारणले निर्माण गर्न केहि ढिलाई भएको बताईए पनि दशै सम्ममा भान्सा घर पूर्ण रुपमा निर्माण हुने बताईएको छ। Screen Shot 2015-07-24 at 23.20.03तस्बिर:-बाँसले बारेको भान्सा कोठामा खाना पाक्दै

पुनर्स्थापना केन्द्रमा काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, धादिङ, मोरङ, धनुषा डोटी लगायतका जिल्लाहरुबाट गरि २२ जना छात्र छात्राहरुले आश्रय लिदै आएका छन् ।

खरेलथोकस्थित भगवती उच्च माविको ‘समाहित शिक्षा कार्यक्रम तथा सुस्त मनस्थिति पुनर्स्थापना केन्द्र’की शिक्षिका सुधा सिलवालको बिशेष पहलमा एक दशकदेखि केन्द्र संचालनमा आएको छ।

भान्साकोठा बनाउँन अपिल गर्दै सहयोग जुटाउँने क्रममा नेपालीनेपाली डटकमले तयार गरेको भिडियो हेर्नुहोस्।