‘पोखरा सबै मौसमका लागि’ र ‘हिलोमा एकपटक टेक्नुपर्छ है’


– सन्देश श्रेष्ठ
पोखरा/ पोखरामा यहि असार १५ गते हुने रोपाईं महोत्सवको तयारी तिव्र रुपमा भइरहेको छ । पोखरा पर्यटन परिषदको आयोजनामा हरेक वर्ष गरिने उक्त महोत्सवको १२ औं संस्करणको तयारी करीब ६० प्रतिशत पूरा भएको परिषदका अध्यक्ष सोम थापाले जानकारी दिए ।

‘पोखरा सबै मौसमका लागि’ र ‘हिलोमा एकपटक टेक्नुपर्छ है’ भन्ने नारासहित आयोजना हुने महोत्सवले पोखरामा आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धन गर्न सघाउने विश्वास लिइएको उनले बताए ।

थापाका अनुसार प्रचारप्रसार तिव्र रुपमा भइरहेको छ भने आवश्यक सामग्रीको जोडजाम पनि गरिसकिएको छ । महोत्सवको सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले उदघाटन गर्ने बताइएको छ ।

नेपाल पर्यटन बोर्ड र पोखरा उद्योग वाणिज्य संघको प्रवर्द्धनमा हुन लागेको महोत्सव यस वर्ष पोखरा-१७ रामेश्वर मार्गमा रहेको राम मन्दिर अगाडि समशेरबहादुर पौडेलको ११ रोपनी खेतमा हुँदैछ ।

पोखरामा आन्तरीक तथा वाहृय पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले हुने महोत्सवको स्थानीय आयोजकमा विरौटा क्लव रहेको छ । महोत्सवमा विदेशी पर्यटकसहित विभिन्न महिला तथा आमा समुहले प्रतिष्पर्धात्मक रुपमा हिलो खेल्दै धान रोप्ने कार्यक्रम संयोजक महेन्द्र श्रेष्ठले बताए ।

महोत्सवको अवसरमा हिलो सम्याउने प्रतियोगिता, असारे गितसँगै रोपाईं, विदेशी र नेपाली सहित विभिन्न समुहको रस्साकस्सी, माछा समाउने, विद्यार्थी, पत्रकार र पर्यटकको हिलो दौड आयोजना गरिने श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगदसहित आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

विगतका वर्षमा झैं यसवर्ष पनि रोपाई महोत्सवको अवसरमा तीन जना कृषकलाई सम्मान गरिने छ । कार्यक्रम संयोजक श्रेष्ठका अनुसार जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा कृषकहरुलाई नगद पाँच हजारसहित सम्मान गरिनेछ ।

फलफूल तथा तरकारी, खाद्यान्न र पशुपालन तथा कुखुरापालन विधाका तीन जना कृषकलाई सम्मान गरिने अध्यक्ष थापाले जानकारी दिए ।

स्वदेशी तथा विदेशी गरी करिव १५ हजारको सहभागिता रहने महोत्सवको खर्च ९ लाख ७५ हजार अनुमान गरिएको छ । परिषदले विगत ११ वर्षदेखि असार पन्ध्रमा रोपाई महोत्सव गर्दै आएको छ ।