सर्वोच्चको आदेशले संविधान निर्माण प्रक्रिया रोकिन्न- सुवास नेम्वाङ


– सन्देश श्रेष्ठ
पोखरा/ संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतको आदेशले संविधान निर्माण प्रक्रिया नरोकिने बताएका छन् ।

संसदको विकास समिति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन वोर्डले आइतबार पोखरामा गरेको कार्यक्रममा नेम्वाङले दलहरुबीचको सहमतिबाटै संविधान बन्ने दाबी गरेका हुन् ।

‘दलहरुबीच जुन सहमति भएको छ, यसले संविधान बनाउने आधार तयार गरेको छ, बिचमा आएका केही अप्ठेराहरुले संविधान रोक्छ कि भन्नेमा कहिं कतै शंका भए त्यो हटाउन म आग्रह गर्दछु’ उनले भने-‘अब संविधान निर्माण प्रक्रिया अघि बढ्यो, कसैले रोक्दैमा अब रोकिन्न ।’

सभाध्यक्ष नेम्वाङले नेपालका दलहरु झगडा गरेर दिक्क लाग्दो बनाएपनि देशमा संकट र बिनाशका बेला एकै ठाउँमा आउन पनि सक्ने उदाहरण पछिल्लो कडीले पनि प्रस्तुत गरेको दाबी गरे ।

उनले विपत्तिबाट पार लगाउन नेपाली आफै सक्षम रहेको बताए । भुकम्पले क्षति पुर्‍याए भन्दा बढी प्रचारबाजी भएको बताउँदै सभाध्यक्ष नेम्वाङले नेपाल अहिले पनि सुरक्षित रहेको जिकिर गरे । उनले भने-‘पोखरा, लुम्विनी र सगरमाथा भूकम्प अघि जस्तै छ, यो अहिलेपनि विश्वलाई स्वागत गर्न तम्तयार भएर छ ।’

पोखराको फेवाताल अतिक्रमित भएको सुन्दा आफूलाई पत्यार नलागेको भन्दै सभाध्यक्ष नेम्वाङले भने-‘मै हुँ भन्ने र वातावरण संरक्षणमा लागेकाहरुले नै फेवाताल मिचेको थाहा पाएँ, त्यति सुन्दर फेवाताल हामी आफै कसरी मिच्न सक्छौं ? कसरी अतिक्रमण गर्न सक्छौं ? अनि कसरी फोहोर गर्न सक्छौं ?’

मलाई अहिले पनि पत्यार नलागेको भन्दै उनले भने-‘तर मैले विहान फेवाताल घुम्दा जे देखेँ, त्यसलाई म अहिले पनि कल्पना मात्र होस् भन्ने चाहना छ ।’

कार्यक्रममा पर्यटनमन्त्री कुपासुर शेर्पाले अर्थमन्त्रालयले पर्यटन क्षेत्रलाई बजेट नदिँदा सोंचेजस्तो काम गर्न नसकेको बताए । उनले कार्यक्रममा उपस्थित अर्थमन्त्रीलाई इंगित गर्दै ठूलो मन गरेर पर्यटन क्षेत्रमा बजेट दिन आग्रह गरे ।

लगत्तै बोलेका अर्थमन्त्री डा.रामशरण महतले काम गर्न सके बजेटको अभाव कहिल्यै हुन नदिने बताए । छुट्याइएको बजेट पनि फ्रिज भइरहेको भन्दै उनले काम गर्ने क्षमता भएकालाई बजेट अभाव हुन नदिने बताए ।

दुई मन्त्रीपछि बोलेका सभाध्यक्ष नेम्वाङले बजेट बारेमा व्यंग्य गरेका थिए । उनले ‘पर्यटन मन्त्रीले बजेट दिनका लागि दिल खोल्नुस अर्थमन्त्री ज्यू भन्नुभयो, अर्थमन्त्रीले दिल खोलेको खोल्यै छु भन्नुभो, मैले खोल्न अब के बाँकी भो र ? भन्दा सहभागिहरुको हाँसोको फोहरा छुटेको थियो ।

उनले बजेट भए के के न गर्थेँ भन्ने र बजेट अभाव हुन दिन्नँ भनेर आएको प्रतिवद्धता व्यवहारमा देख्न पाइयोस् भन्दा तालीको गडगडाहटले सहभागीहरुले समर्थन गरेका थिए ।