तेश्रो इनास अवार्ड कार्यक्रम नेपालमा हुने,


– प्रकाश तिवारी

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले आयोजना गर्दै आएको नेपाली चलचित्र सम्बन्धि अवार्डको तेश्रो संस्करण यो पटक नेपालमा गर्नेभएको छ।

कलाकार समाज इनास ग्लोबल कमिटीले गराएको जानकारी अनुसार आगामी अक्टोबर महिनाको १२ र १३ तारिक नेपालमा हुनलागेको इनासको प्रथम विश्वसम्मेलनको अवसर पारेर तेश्रो इनास अवार्ड पनि नेपालमै आयोजना गर्न लागेको जनाएको छ।

अघिल्ला वर्षहरुमा सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नायक र सर्वोत्कृष्ट नायिका सहित कूल चार विधामा अवार्ड प्रदान गर्दै आएको इनासले यसपटक भने विभिन्न १४ विधामा अवार्ड प्रदान गर्ने भएको छ।

अवार्डको लागि चलचित्रहरुको प्रारम्भिक छनौट गर्न यसपटक एनएफडिसी संग सहकार्य गरेको र नेपालका ख्यातिप्राप्त व्यक्तित्वहरु वरिष्ठ संगीतकार शुभ बहादुर सुनाम, पहिलो नेपाली चलचित्र कुमारी कि नायिका चैत्यदेवी सिंह, वरिष्ठ छाँयाकार मन्जु कुमार श्रेष्ठ, ध्वनी सम्बन्धि विषयमा इञ्जिनियरिङ्ग गर्नुभएका प्रदिप उपाध्याय र नेपाल चलचित्र विकास कम्पनीकी कि प्रमुख निकिता पौडेल सहितको जुरी सदस्यहरुले सन् २०१४ भित्र सार्वजनिक प्रदर्शनमा आएका नेपाली चलचित्रहरुबाट प्रारम्भिक छनौट गरि पठाएको उत्कृष्ट पन्ध्र ओटा चलचित्रको नामावली समेत प्राप्त भैसकेको र यिनै उत्कृष्ट १५ चलचित्रहरु मध्येबाट सर्वोत्कृष्ट छनौट गरि १४ विधामा अवार्ड प्रदान गरिने भएको छ।

यसपटक अवार्ड कार्यक्रमसंगै इनासका विश्वभरिबाट आउने प्रतिनिधीहरु, नेपाल सरकारका सम्बन्धित निकायहरु र चलचित्रसंग सम्बन्धित संघ- संस्था र व्यक्तिहरुको सहभागितामा नेपाली चलचित्रको बिकास र अन्तराष्ट्रिय बजार विस्तारका लागि सामूहिक रुपमा चालिनुपर्ने कदम सम्बन्धि अन्तरक्रिया र गोष्ठी समेत आयोजना गर्ने जानकारी इनासका चलचित्र विकास तथा प्रवर्द्धन समितिका संयोजक मनिष कुमार श्रेष्ठले गराउनुभएको छ।

नेपाली चलचित्रको विकास र अन्तराष्ट्रिय प्रवर्द्धनको लागि कलाकार समाजद्वारा आयोजना गरिदै आएको इनास अवार्डको पहिलो र दोश्रो संस्करण यसअघि सन् २०१३ मा जर्मनी र २०१४ मा नेदरल्याण्डमा आयोजना भैसकेका छन्।