बारपाकमा विद्यालय बनाउन,शेष घले दम्पतीले सहयोग गर्ने


काठमाण्डौ/ गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङले स्थापना गरेको परोपकारी संस्था एमआईटी ग्रुप फाउण्डेसनले भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाकमा बिद्यालय बनाउन सहयोग गर्ने भएको छ ।

१२ वैशाख २०७२ को महाभुकम्पबाट क्षत्विक्षित् भएको बारपाकस्थित हिमालय उच्च मावि.को पाठन पाठन सुचारु गर्न तत्कालै अस्थायी संरचना बनाउन फाउण्डेसनले सहयोग गर्ने छ ।

हिमालय उच्च मावि र फाउण्डेसनवीच भएको सम्झौताअनुसार एमआईटी फाउण्डेसनले उच्च माविको संरचना निर्माणका लागि १८ लाख २१ हजार ९४० रुपैयाँ उपलब्ध गराउने छ ।

सम्झौताअनुसार भवन निर्माण बाहेक फाउन्डेसनले शिक्षाको गुणस्तर अभिबृद्धि गरी नमुना स्कुल बनाउन पाँच वर्षसम्म सघाउने छ ।

२०१७ सालमा स्थापना भएको उक्त स्कुलमा एघार सय विद्यार्थी अध्ययनरत् छन् । उक्त विद्यालय त्यस भेगको सबैभन्दा पुरानो र ठूलो विद्यालय हो, जहाँ अन्य गाविसबाट पनि बिद्यार्थीहरु अध्ययनका लागि आउँछन् । सो क्षेत्रको एसएलसी परिक्षा केन्द्रसमेत रहेको यो बिद्यालयमा बारपाकमात्र नभएर अन्य गाविसका बिद्यार्थीसमेत आश्रित छन् ।

नजिकको दुई प्राथमिक विद्यालयको भवन पनि भत्केकोले अस्थायी संरचना निर्माणपछि ती विद्यालयहरुको कक्षा पनि यसै विद्यालयमा सञ्चालन गरिनेछ ।
सम्झौतामा फाउन्डेसनको तर्फबाट शेष घले र विद्यालय व्यवस्थापन समितिको तर्फबाट समराज घलेले हस्ताक्षर गरे ।

बारपाकमा स्थायीरुपमा बस्ती बसाउन सम्भव भए/नभएको बारे अहिलेसम्म प्राबिधिक अनुसन्धान हुन नसकेकाले तत्कालका लागि अस्थायी संरचना निर्माण गर्न लागिएको घलेले जानकारी दिए ।

नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा परोपकारी काम गर्ने गरी घले दम्पत्तिले केही महिना अगाडी एक अर्ब रुपैयाँको परोपकारी कोषको स्थापना गरेका थिए ।