एट्लेटिको म्याड्रिडको स्टेडियममा नेपाली फुटबल जर्सी 


बार्सिलोना। एट्लेटिको म्याड्रिडले वान्डा मेट्रोपोलिटानो स्टेडियममा नेपालको राष्ट्रिय फुटबल टिमको जर्सी प्रदर्शन गरिएको छ। ‘फुटबल फर पिस एक्जिब्युसन’ नाम दिईएको उक्त प्रदर्शनीमा  नेपालको फुटबल जर्सी पनि प्रदर्शनीमा  राखिएको हो। 

लालिगा र एकेडमी अफ डिप्लोमेसीको संयुक्त पहलमा आयोजित कार्यक्रममा ८० भन्दा बढी दूताबासहरुले भाग लिएका थिए। दूताबासहरुले आ -आफ्नो देशको फुटबल टिमको जर्सी प्रदर्शन गर्दै ‘शान्तिका लागी फुटबल’ अभियानको समर्थन गरेका हुन्। 

नेपालको तर्फबाट राजदूत दावाफुटी शेर्पाले कार्यक्रममा भाग लिएको म्याड्रिडस्थित नेपाली राजदूताबासले जनाएको छ। 

बुधबार र बिहिबार गरी दुई दिनसम्म चलेको प्रदर्शनीलाई विश्व फुटबल शिखर सम्मेलनको पाँचौं संस्करणको एक हिस्साको रुपमा लिईएको छ।

एट्लेटिको म्याड्रिडमा अध्यक्ष एनरिक सेरेजोले कार्यक्रमलाई सम्बोधन गर्दै फुटबलले संसारभरका मानिसहरुलाई एकैठाउँमा जोड्ने बताए। ‘फुटबलले मानिसहरु र राष्ट्रहरुबीच सद्भावको पुल बनाउँछ। हामी यो अवसरलाई प्रगति र प्रगति जारी राख्नको लागि, खेलकुद र विशेष गरी  फुटबलको माध्यमबाट एक राम्रो संसार बनाउन चाहन्छौ।’ अध्यक्ष  एनरिक सेरेजोले भने।

कार्यक्रममा लालिगा, एकेडमी अफ डिप्लोमेसीका तर्फबाट सहभागि विशिष्ट व्यक्तित्वहरुले पनि सम्बोधन गरेका थिए।