आईसीसी सदस्यमा गिरीको सर्वाधिक मत, कुन क्षेत्रमा को अघि ? 


बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पदमा दिनेश कुमार गिरीले सर्वाधिक मत प्राप्त गरी विजयी बनेका छन्। तीन प्रतिस्पर्धी मध्ये निर्वतमान उपाध्यक्ष समेत रहेका गिरीले १ हजार २ मतका साथ विजयी बनेका हुन्। 

गिरीसँगै प्रकाश तिमिल्सिना पनि आईसीसी सदस्य पदमा निर्वाचित बनेका छन्। उनले ९५६ मत प्राप्त गरे।निर्वाचित बनेका गिरी निर्वतमान कार्यसमितिका उपाध्यक्ष हुन् भने तिमिल्सिना पूर्व उपाध्यक्ष हुन्। छैठौं अधिवेशनमा आईसीसी सदस्यमा पराजित भएका तिमिल्सिना सातौ अधिवेशनमा भने चुनाव जितेका छन्। 

अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पदका अर्का प्रत्यासी यज्ञ नारायण पौडेलले (रमेश) ८६९ मत प्राप्त गरेका छन्। आईसीसी सदस्यमा नेपाली जनसम्पर्क समितिका एक्ला उम्मेदवार रहेका तिमिल्सिनाको सर्वाधिक मत आउने आकलन गरिएको थियो। 

तिमिल्सिनाले वार्सिलोनामा भने ४७० मतसहित सर्वाधिक मत ल्याएका छन्। बार्सिलोना केन्द्रमा गिरीले सबैभन्दा कम ४११ मत प्राप्त गरे। ताकि पौडेलले समेत ४१२ मत ल्याई दोस्रो स्थानमा थिए। तर ग्रान क्यानेरियामा गिरीले ५६ मत तिमिल्सिनाले ३७ मत प्राप्त गरेका छन्। ताकि पौडेल सो क्षेत्रमा ७६ मतका साथ सबैभन्दा अघि छन्। 

कोष्टाब्याङ्कामा समेत पौडेलले १७३ मत ल्याई सर्वाधिक मत ल्याएका छन्। तिमिल्सिना १५८ मतसहित दोस्रो स्थानमा छन् भने गिरीले १५२ मत प्राप्त गरे। पाईसभास्को क्षेत्रमामा गिरी १५२ मत सहित सबैभन्दा अघि छन्। जहाँ तिमिल्सिनालाई १०४ मत र पौडेललाई ९४ मत खसेको छ। 

राजधानी म्याड्रिडमा पनि गिरीले २०४ मतसहित सर्बाधिक मत प्राप्त गरेका छन्। तिमिल्सिनाले १८४ मत र पौडेलले भने १११ मत प्राप्त गरे।  समग्रमा गिरीले पाईसभास्को र म्याड्रिडमा अघि देखिए भने तिमिल्सिनाले बार्सिलोना केन्द्रमा मात्र सर्बाधिक मत ल्याए। पौडेल तेस्रो स्थानमा रहेपनि कोष्टाब्याङ्का र ग्रान क्यानेरियाक्षेत्रको लिड गर्न सफल भए। 

आईसीसी सदस्यमा तिमिल्सिना जनसम्पर्क समितिका एक्ला उम्मेदवार हुन् भने गिरी र पौडेललाई प्रबासी नेपाली मञ्चको समर्थन थियो।यद्दपी भित्रि रुपमा अन्य संस्थाहरुको उनीहरुलाई समर्थन गरेको आकलन गरिएको छ। 

यता जनसम्पर्क समितिले आईसीसी सदस्यमा एकजना मात्र उम्मेदवार पठाएर सही निर्णय गरेको नजिताले देखाएको छ। दुई उम्मेदवार भएको खण्डमा  कम्तिमा एकजना पराजित हुने सम्भावना बलियो रहेको मत परिणामको आँकडाले देखाएको छ। अहिले जनसम्पर्क समितिका सबै उम्मेदवारहरुले विजयी बन्न सफल भएका छन्।

एनआरएनए स्पेनको सातौँ अधिवेशनबाट अध्यक्षमा शालिकराम डुम्रे विजयी बनेका छन्। अध्यक्षका अर्का प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै  डुम्रे विजयी बनेका हुन्।डुम्रेले १ हजार १८ मत प्राप्त गरे भने  राईले ८६३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।