एनआरएन कोस्टाब्लान्कामा चुनावी रन्को : अध्यक्षमा अक्कल र देवराज भिड्दै 


वार्सिलोना, जुन २१ 

एनआरएनए स्पेनको कान्छो क्षेत्रीय समिति कोस्टाब्लान्काको नयाँ नेतृत्वको लागि अक्कलबहादुर बोहोरा र देवराज सापकोटा चुनावी मैदानमा ऊत्रिएका छन्। क्षेत्रीय समितिको पहिलो अधिवेशनका लागि बिहिबार हुने मतदानमा बोहोरा र सापकोटाबीच प्रतिस्पर्धा हुने भएको हो। 

सोमबार केशवराज कंडेलले पनि उम्मेद्वारी दर्ता गराएका थिए। तर कंडेलले बोहोरालाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएका छन्।नेपाल समाज एसोसिएसन र नेपाल स्पेन समाजबीच एकताको घोषणा गर्दै कडेंलले बोहोरालाई समर्थन गरेका हुन् ।

 निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीको सूचनामा एनसीसी सदस्यका लागि रीता आचार्य र रितेश श्रेष्ठले उम्मेदवारी परेको छ। यस्तै उपाध्यक्षमा केशरबहादुर थापा र श्री प्रसाद शेरचन,सचिवमा अनुपसिंह भण्डारी र लक्ष्मण पाण्डेबीच प्रतिस्पर्धा हुनेभएको छ। 

 सहसचिवमा चक्रप्रसाद बेल्वासे र बालकुमार बुढा,कोषाध्यक्षमा झरना कार्की र सिर्जना लामिछाने, युवा संयोजकमा ईश्वर बुढाथोकी र प्रबिण सुबेदीबीच चुनाव हुने निश्चित भएको हो। 

महिला संयोजकमा मुना महत घिमिरेको मात्र उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ। यस्तै ५ जना कार्यसमिति सदस्यहरुमा गंगा मुनिकर,धिरज पाण्डे,बिजया थापा,सन्देश नेपाल र सिमा सापकोटाको मात्र उम्मेद्वारी परेकोले निर्विरोध निर्वाचित हुने पक्का भएको छ। 

निर्वाचन समितिका संयोजक लालबहादुर खत्री क्षेत्रीले स्वास्थ्य मापदण्डलाई ध्यान दिदै भौतिक रुपमा नै मतदातालाई उपस्थित गराएर चुनाव गराउने बताएका छन्। उनले नेपालीनेपाली डटकमलाई भने,’जुन २४ बिहिबार, ‘हामी भौतिक रुपमा नै उपस्थिति भएर मतदान गर्न मतदाताहरुलाई अनुरोध गर्दछौ। मतदान गर्ने समय लम्बाउन उम्मेद्वारहरुले माग गर्नुभएको छ। त्यो बारे छलफल गरेर निर्णय लिन्छौ।’ क्षेत्रीय समिति कोस्टाब्लान्कामा ३ सय २१ जना पंजीकृत सदस्यहरु रहेका छन्। 

नेपाल समाज एसोसियन कोष्टाब्लांका र साविकको स्पेन समाजको विवादका कारण पहिलो अधिवेशन नै चुनावी मोडमा उत्रिएको कोस्टाब्लान्कानिवासी एक नेपालीले बताउँछन्। ‘एनआरएन क्षेत्रीय समिति गठन भएको एक वर्ष पनि भएको छैन।’नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘यस्तो महामारीको बेला के-को चुनाव गर्नुपर्थ्यो। समाजका धेरै नेपालीहरुलाई सोध्नुहोस्, केहि ब्यक्तिहरुको ईगोको कारण नै यस्तो अबस्था आएको हो। अब मानसिकता नमिल्ने हो भने,भोलि जसले चुनाव जिते पनि समाज भने एक हुन सक्तैन।’